सडकले जोड्यो खुसीसँगै समृद्धि

प्रकाशित मिति :  76 पटक हेरिएको

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी गाउँका ७९ वर्षीय बलबहादुर छन्त्यालको समय हिजो आज गाउँमा उक्लिएका जीप, ट्याक्टर र मोटरसाइकल गन्ती गर्दै र चोयाँका सामग्री बुन्दै बित्ने गरेको छ ।

जीवनको उत्तरार्धमा आएर बल्ल अलिअलि सुखको महसुस गर्न पाएका उनको बाल्यकाल, युवावस्था र प्रौढावस्था अनेकौं दुःख संघर्ष गर्दै बित्यो । अहिले छोरा नातिको मुहारमा खुसी देख्दा आफू पनि खुसी हुनाको अर्को कुनै विकल्प नरहेको उनी बताउछन् ।

पिडौला फर्किने गरी उकालीओराली गर्दै जवानी बित्यो । भौतिक सुख र प्रविधिको उपयोग उनका लागि सपना बन्यो तर आजभोलि छन्त्याल असाध्यै खुसी छन् । उनी खुसी हुनुको कारण घर घेउमै दैनिकजसो गुड्ने दर्जनौं मोटर गाडीहरू हुन् ।

मुलुक संघीय संरचनामा गएपछि पछिल्लो समय ग्रामीण बस्तीमा पनि विकासले गति लियो । विकासले गर्दा सुविधा पाउन र देख्न थालेपछि उमेरले डाँडो काटेका अन्य ज्येष्ठ नागरिकको मुहारमा पनि खुसी छचल्किएको छ ।

आफूहरूले बटौलीबाट डोकोमा नुन बोकेर १५ दिनपछि पैदल गाउँमा फर्किदाको दुःख सुनाउँदै छन्त्याल छोरा नातीका दुःखका दिन विस्तारै हट्दै गएकामा खुसी व्यक्त गरे ।

गाउँ-गाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उनको भनाइ छ ।

‘आजभन्दा १५/२० वर्षअगाडि अहिलेको जस्तो सुविस्ता थिएन, खसौली, बटौली र सुनौली पुगेर नुन बोकेर जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ-गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ’, छन्त्यालले भने ।

‘उति बेला नुन र चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चिज त हाम्रा पालामा पाइँदैनथ्यो ।’ विगत १५/२० वर्षयता गाउँमा आफूले नसोचेको विकास भएकोमा छन्त्याल मात्रै होइन उनकै उमेरका धेरै ज्येष्ठ नागरिकहरू पनि दंग परेका छन् ।

बेनी नगरपालिका-२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले अहिलेको पुस्ता भाग्यमानी भएको बताए । ‘हामीले गरेको दुःख अहिलेको युवा र केटाकेटीलाई सुनाउँदा पत्याउदैनन् । त्यतिबेलाको तुलनामा अहिले त आनन्दै आनन्द छ’, उनले भने ।

उपाध्याय सुनवल, बुटवल, तानसेन, नाउडाँडा, कुश्मा, बाग्लुङ र बेनी हुँदै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू बोकेर घरमा ल्याए पछि मात्र खान पाइने विगत सुनाए ।

‘गाउँमा नुन, चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपथ्र्यो, बजार नजिक थिएन, १०/१२ दिन लगाएर खसौली वा बटौली जानुपथ्र्यो, त्यसपछि मालढुंगासम्म गाडी आउन थाले हामीलाई पनि सहज हुन थाल्यो’, उपाध्यायले भने, ‘अहिले गाउँ-गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।’

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय सडक निर्माणले तीब्रता पाएको छ । एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाबाहेक अन्य ४४ वडामा सडक सुविधा पुगेको हो ।

सडक डिभिजन कार्यालयका अनुसार म्याग्दीमा ११ मुख्य सडक र ४२ वडा सहायक तथा कृषि सडक छन् । वडा र पालिकाले स्थानीयवासीको आवश्यकताअनुसार निर्माण गरिएका सडकको संख्या भने समेटिएको छैन् ।

सडकको पहुँचसंगै स्थानीय उत्पादनले बजारीकरणको अवसर पनि पाएको रघुगंगा गाउँपालिका-६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । स्थानीयवासीलाई आवतजावत गर्न मात्रै होइन गाउँको समृद्धि र स्वास्थ्योपचारका दृष्टिले पनि सडक सुविधा वरदान सावित भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया