निर्वाचनको कार्यतालिका तयार

प्रकाशित मिति :  91 पटक हेरिएको

काठमाडौं –  निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाउने उनले बताए ।

आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको उनले बताए  । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।यस अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन हुन सक्नेछन् ।

निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ ।समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया