भैरहवाबाट श्रम स्वीकृति प्रचारमै सीमित

सेवाग्राहीलाई काठमाडौंमै धाउनुपर्ने बाध्यता

प्रकाशित मिति :  86 पटक हेरिएको

काठमाडौं- भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएस“गै स्थापना गरिएको वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा समस्या देखिएको छ । गत असार १ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निकै प्रचारप्रसारका साथ उद्घाटन गरेको शाखा कार्यालय सञ्चालनका लागि सरकारले आवश्यक प्रबन्ध नगर्दा समस्या देखिएको हो ।

भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान हुने र वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृतिलगायतका सेवा लिनसक्ने गरी कार्यालयको स्थापना गरिए पनि अहिले सेवाग्राहीले सेवा लिन पाएका छैनन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रमसम्बन्धी सबै सेवा उपलब्ध गराउने कार्यालय भैरहवामा स्थापना भएको प्रचार गरिए पनि शाखाले पुनः श्रम स्वीकृतिबाहेक अन्य सेवा प्रदान गर्न नसक्ने कर्मचारीहरु नै बताउँछन् ।

स्रोतका अनुसार तत्कालीन मन्त्री श्रेष्ठको हतारोका कारण पूर्वतयारीविना नै शाखा सञ्चालन तथा उद्घाटन गरिएको थियो । जसको मारमा अहिले सेवाग्राहीलाई परेको छ । ‘न कर्मचारी छ, न दरबन्दी । कार्यालय सञ्चालनका लागि बजेट नै छैन । यही कारण बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयका कर्मचारी ल्याएर काम गराउनुपर्ने बाध्यता आइलागेको छ,’ शाखा कार्यालयका एक अधिकारीले भने ।

उक्त शाखा कार्यालय बुटवलमा रहेको श्रम कार्यालयअन्तर्गतको एक निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहातको कार्यालय भएको खुलेको छ । जसको कार्यक्षेत्र आन्तरिक श्रम हेर्ने रहेको छ । यस्तो कार्यालयले कसरी वैदेशिक रोजगारसम्बन्धी कार्य सञ्चालन गर्छ प्रश्न उठेको छ ।

श्रम स्वीकृतिलगायतका सबै कार्य भैरहवाबाट गर्ने भनिए पनि स्थापना भएको तीन महिनासम्म पनि श्रम मन्त्रालयले कुनै पहलकदमी लिएको छैन । कार्यालय स्थापना भइसकेपछि आवश्यक बजेट र कर्मचारीको लागि गृहकार्य गरिरहेको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए । उनले छिट्टै सबैखाले श्रम स्वीकृतिका लागि सेवाग्राहीले काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुने बताए । तर, संस्थागत श्रम स्वीकृति (पूर्व र अन्तिम श्रम स्वीकृति) तथा वैयक्तिक नयाँ श्रम स्वीकृति गर्न वैदेशिक रोजगार विभाग काठमाडौंबाट लिनुपर्ने बाध्यता हटेको छैन ।

शाखा कार्यालयले पुनः श्रम स्वीकृतिबाहेक अन्य श्रम स्वीकृति गर्नका लागि विभागबाट अनुमति लिनुपर्ने हुन्छ । विभागले निश्चित कोटा निर्धारण गरिदिएका कारण थुप्रै सेवाग्राही काठमाडौं नै धाउनुपर्ने स्थिति छ । कार्यालय सञ्चालनमा आएको तीन महिना पुग्न लाग्दा पनि पुनः श्रम स्वीकृतिको काम भए पनि संस्थागत श्रम स्वीकृती र व्यक्तिगत नयाँ श्रम स्वीकृतिको काम सुरु नहुँदा सेवाग्राहीहरु काठमाडौं धाउनुपर्ने बाध्यता कायमै रहेका कारण भैरहवामा शाखा कार्यालय हुनुले कुनै फरक नपार्ने नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले बताए ।

व्यक्तिगत नयाँ श्रम स्वीकृति सम्बन्धमा २०७५ पुस ९ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचनाअनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा २१ बमोजिम वैदेशिक रोजगारका लागि व्यक्तिगतरुपमा विदेश जान चाहनेहरुबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने रहेको छ । वैयक्तिक नया“ श्रम स्वीकृतिका लागि विभागले फेमिस सिस्टमबाट काम गर्ने हुँदा त्यसको अधिकार प्रत्यायोजन नभएको शाखा कार्यालयका प्रमुख केशव भट्टराईले बताए ।

‘वैयक्तिक नया“ श्रम स्वीकृतिको अनलाइन फाराम भर्ने फेमिस सिस्टम भैरहवाका लागि विभागले नखोलिँदासम्म यो स्वीकृति लिन सेवाग्राही काठमाडौं नै धाउनुपर्छ,’ भट्टराईले भने ।
शाखा कार्यालयबाट अहिलेसम्म संस्थागत श्रम स्वीकृतिअन्तर्गत पूर्वस्वीकृति एक जनाले पनि लिएका छैनन् । त्यस्तै कार्यालयको रेकर्डअनुसार अन्तिम स्वीकृति १२ जनाले लिएका छन् भने ६५१ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ ।

 

तपाईको प्रतिक्रिया