भदौमा ७६ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

मलेसिया जाने संख्या बढी

प्रकाशित मिति :  89 पटक हेरिएको

मोहनप्रसाद पन्त

काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको पाइएको छ । यस महिना वैदेशिक रोजगारीमा जानका लागि ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा करिब १३ हजारले बढी हो ।

विभागका अनुसार गत साउन महिनामा ६३ हजारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवमा एकपछि अर्को महिना रोजगारीका लागि विदेशिने नेपालीको संख्या झण्डै ९ प्रतिशतले बढेको विभागको तथ्यांकमा देखिन्छ । कोरोना महामारीले थला परेको वैदेशिक रोजगारी गत आर्थिक वर्षबाट पुरानै लयमा फर्किएको थियो । यो क्रमले चालु आवको सुरुआतबाटै निरन्तरता पाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता मलेसिया जाने नेपाली कामदारको संख्या पनि उल्लेख्य बढेको छ । कोरोनाका कारण पछिल्ला दुई वर्ष कामदार लैजान रोकेको मलेसियाले आप्रवासी कामदार आपूर्ति गर्न खुल्ला गरेस“गै मलेसिया जान गत साउन महिनामा २४ हजार ४८४ जनाले श्रम स्वीकृति लिएकोमा भदौ महिनामा बढेर ३५ हजार ३७२ पुगेको छ । यतिखेर रोजगारीका लागि अन्य गन्तव्य मुलुकभन्दा मलेसियामा नेपालीको माग र आकर्षण बढ्दो रहेको विभागको तथ्यांकले देखाएको छ ।

मलेसिया जाने कामदारको संख्या साउन महिनाको तुलनामा भदौमा ४४.४६ प्रतिशतले बढेको छ । आगामी दिनमा मलेसिया जाने नेपालीको संख्या अझै बढ्ने विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । उनका अनुसार मलेसिया मात्र नभई समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या आगामी दिनमा अझै बढ्ने देखिन्छ ।

गत आर्थिक वर्षमा ३५ हजारको हाराहारीमा मात्रै मलेसिया जान नेपालीहरुले श्रम स्वीकृति लिएका थिए । गत आवमा नेपालीहरुका लागि पा“चौं श्रम गन्तव्य बन्न पुगेको मलेसियामा अहिले दुई महिनामा नै झण्डै ६० हजारले रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउछ ।

गत आवमा नेपालीहरुका लागि पाचौं श्रम गन्तव्य बन्न पुगेको मलेसियामा अहिले दुई महिनामा नै झण्डै ६० हजारले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । साउन महिनाको तुलनामा भदौमा मलेसिया जानेको संख्या ४४ प्रतिशतले बढेको छ ।

त्यस्तै भदौ महिनामा कतारमा ११ हजार ७७५, संयुक्त अरब इमिरेट्स (युएई)मा आठ हजार ३६५, साउदी अरेबियामा छ हजार ७८४ र कुवेतमा जान पा“च हजार २९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यी पा“च देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको देखिन्छ । त्यस्तै माल्टामा एक हजार ४२१, रोमानियामा ७७३, बहराइनमा ६९७, जापानमा ६३७, क्रोएसियामा ६०४ र ओमानमा ५३२ जनाले रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १८ हजार ७१० जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ५७ हजार ६९३ रहेको छ । समग्रमा भदौ महिनामा श्रम स्वीकृति लिनेमध्ये सात हजार ५१९ जना महिला रहेको विभागले उल्लेख गरेको छ ।

विभागको तथ्यांकअनुसार जिल्लागतरुपमा मधेसका जिल्लाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरीबाट विदेश जानेको संख्या अन्य जिल्लाको भन्दा बढी रहेको छ । झापा, मोरङ, सुनसरी र रुपन्देहीबाट पनि उल्लेख्य मात्रामा नेपालीहरु विदेश गएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुआती महिनादेखि नै रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या बढ्दा म्यानपावर व्यवसायीहरु उत्साहित देखिएका छन् । युक्रेन युद्धका कारण खाडी मुलुकमा कामदारको माग घटेका कारण मलेसियामा जाने नेपालीको संख्यामा वृद्धि भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनालले बताए । तुलनात्मक रुपमा मलेसिया मौसम र पारिश्रमिकको हिसाबले पनि खाडी मुलुकभन्दा राम्रो रहेको उनको भनाइ छ ।

‘पछिल्लो समय मलेसिया जाने नेपालीको संख्या बढ्नु हामी व्यवसायीका लागि राम्रो र खुसीकै कुरा हो,’ खनालले भने । पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक बढाउने निर्णय गरेस“गै नेपालीहरुका लागि मलेसिया अकर्षक गन्तव्य बनेको खनालले बताए ।

तपाईको प्रतिक्रिया