युरोपलाई श्रम गन्तव्य बनाउने तयारी

तत्काल रोमानियासँग श्रम सम्झौताको तयारी भए पनि युरोपमा विभिन्न मुलुक माल्टा, पोर्चुगल, पोल्याण्ड पनि सम्झौताका लागि पाइपलानमा रहेको मन्त्रालायले जनाएको छ ।

प्रकाशित मिति :  49 पटक हेरिएको

काठमाडौं- सरकारले वैदेशिक रोजगारीका लागि खाडी मुलुक मात्र नभई यसको विकल्पमा युरोपलाई श्रम गन्तव्य बनाउने तयारी थालेको छ । श्रमिकको सुरक्षा, मानवअधिकार पारिश्रमिक, रेमिट्यान्स र मौसमका हिसाबले पनि खाडी मुलुकको विकल्पमा युरोपलाई श्रम गन्तव्य बनाउने तयारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जुटेको छ ।

युरोपमा रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकहरुको खोजी तथा अध्ययन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । हालसालै मात्र स्वास्थ्य जनशक्ति पठाउने विषयमा बेलायतसँग सम्झौता गरेको नेपाल सरकारले रोमानियासँग पनि छिट्टै श्रम सम्झौता गर्ने तयारी भइरहेको श्रम सचिव एकनारायण अर्यालले जानकारी दिए । ‘सरकारले प्राथमिकताका साथ युरोपेली मुलुकहरुसँग श्रम सम्झौताको तयारी थालेको छ,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै रोमानियासँग श्रम सम्झौता हुने सम्भावना छ ।’ उनका अनुसार रोमानियासँग सरकारीस्तरमा (जिटुजी) श्रम सम्झौताको तयारी अगाडि बढाइएको छ ।

तत्काल रोमानियासँग श्रम सम्झौताको तयारी भए पनि युरोपमा विभिन्न मुलुक माल्टा, पोर्चुगल, पोल्याण्ड पनि सम्झौताका लागि पाइपलानमा रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयले सम्भावित श्रम गन्तव्य खोजीका लागि मलेसियाका लागि पूर्वनेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदलले २०७५ साल साउनमै युरोपका विभिन्न मुलुक पहिचान गरी सम्भावित श्रम गन्तव्यका लागि गृहकार्य थाल्न सरकारलाई सुझाव दिएको थियो ।

कार्यदलले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा नेपाली श्रमिकहरुका लागि खाडी मुलुकहरुको विकल्पमा युरोपका पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायतका देशहरुलाई श्रम गन्तव्य बनाउन उपयुक्त हुने उल्लेख छ । कार्यदलले बेलायतसहित अन्य १९ वटा मुलुकसँग श्रम गन्तव्यका लागि गृहकार्य थाल्न सुझाव दिएको थियो ।

पाण्डे नेतृत्वले दिएको प्रतिवेदनको अध्ययनका आधारमा विभिन्न मुलुकसँग पछिल्लो समय सम्भावित श्रम गन्तव्यका लागि छलफल भइरहेको सचिव अर्यालले बताए । ‘जिटुजी भन्नेबित्तिकै दुई देशबीचको आपसी सहमति भएकाले तत्कालीन अवस्थामा विविध कारणले गृहकार्य अगाडि बढ्न सकेन होला,’ उनले भने, ‘अब हामीले नेपाली युवाहरुलाई रोजगारीका लागि युरोपमा फोकस गर्नुपर्छ, यसका लागि गृहकार्य गरिरहेका छौं ।’

केही वर्षयता व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या बढ्दै गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । तर, माल्टा र रोमानियामा भने म्यानपावर कम्पनीबाट जाने नेपाली कामदारको संख्या उल्लेख्य छ । विभागको तथ्यांकअनुसार यी दुई मुलुकमा अहिलेसम्म २० हजारको हाराहारीमा नेपालीहरु काम गरिरहेका छन् । झण्डै नौ हजार जना रोमानिया जाने तयारी गरिरहेको विभागले जनाएको छ ।

रोमानिया जाने नेपालीहरुको चाप बढेका कारण सहजताका लागि हाल सरकारको पहलमा श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि ‘अस्थायी रोमानियन मिसन’ स्थापना गरिएको छ । जसका कारण भिसा प्रक्रियाका लागि दिल्ली धाउनुपर्ने बध्यता हटेको छ । त्यस्तै युरोपेली मुलुक माल्टा जानेको संख्या पनि क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको सुरुआती दुई महिना साउन र भदौमा एक हजार ९७५ जनाले माल्टा जानको लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

खाडी मुलुकको विकल्प वा यथास्थितिमै राखेर पनि युरोपमा वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्न सरोकारवाला सबैले जोड दिनुपर्ने सचिव अर्यालको भनाइ छ । उनका अनुसार युरोपलाई श्रम गन्तव्य बनाउन सके प्रारम्भिक चरणमा वार्षिक एक लाखभन्दा बढी नेपालीले रोजगारी पाउने छन् । कामदारको सुरक्षा र आम्दानीको दृष्टिकोणले नेपाली कामदारलाई युरोपेली मुलुकमा जान प्रोत्साहन गर्नुपर्ने अर्यालले बताए ।

युरोपेली मुलुकमा जाने श्रमिकले मासिकरुपमा राम्रो कमाइ गर्ने गरेको देखिएको भन्दै उनले सामान्य कामदारले १२ सय युरोसम्म कमाउन सक्ने र रेमिट्यासको रुपमा ठूलो रकम नेपाल भित्रिने अवस्था रहेको बताए । युरोपका केही देशबाट नेपाली कामदारको राम्रो माग आउने गरेको र हाल निर्माण, होटल, कृषि, उद्योग, सेवा क्षेत्र र समुद्रमा काम गर्ने श्रमिक लिन इच्छा देखाइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया