१२ खेल, ११ मा जित । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अपत्यारिलो लाग्ने यो सफलता हासिल गरेको हो । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएका पछिल्ला १२ खेल खेलेको नेपालले ११ मा जित हासिल गर्नु चानचुने कुरा होइन । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित मात्रै राखेन, विश्वकप छनोटमा सोझै प्रवेश पाएको छ ।
गत आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको थियो । बिहीबार पुनः युएईलाई नै हराएर नेपाल विश्वकप छनोटमा प्रवेश गरेको हो ।
बिहीबार लिगको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरेको हो । तीन महिनापछि जिम्बाबेमा आयोजना हुने छनोटका लागि जित्नैपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको नेपालले युएईलाई खराब प्रकाशको कारण ‘डकवर्थ लुइस’ नियमका आधारमा नौ रनले हराएर उक्त यात्रा तय गरेको हो ।
नेपालले सन् २०१८ मा पहिलोपटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ ।
आइतबारको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको थियो । त्यसपछिका दुई खेलमा लगातार नामिबिया र युएईलाई हराउँदै नेपाल तेस्रो स्थानमा उक्लियो । शीर्ष तीनमा रहने टोली विश्वकप छनोटमा परेका हुन् ।
नेपालभन्दा अघि स्कटल्याण्ड र ओमान छन् ।लगातारको जित र घरेलु मैदानको फाइदा नेपाली टोलीले बिहीबार उठाउन सफल भएको छ । नेपाली क्रिकेट टोलीको पछिल्लो प्रदर्शन साँच्चिकै प्रशंसानीय छ ।
यसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखाएको छ । तर, खेलाडीहरुमा देखिएको यो आत्मविश्वासलाई कायमै राख्न सक्नुपर्छ । यसका लागि सरोकारवाला निकाय र सरकारले ध्यान दिन जरुरी छ । क्रिकेटमार्फत विश्वमा नेपालको प्रतिनिधित्व गर्नु भनेको हाम्रो लागि गौरवको कुरा हो ।
त्यसैले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरण बन्द गरी यस क्षेत्रलाई व्यावसायिक बनाउन जरुरी छ ।यही महिना उमेर समूहमा पनि नेपालले सफलता हासिल गरेको थियो ।
युएईमा भएको प्रतियोगितामा सफलता हासिल गर्दै १९ वर्षमुनि उमेर समूहको टोली यू–१९ विश्वकपका लागि छनोट भएको थियो । नेपाल आठ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको केही साताभित्रै राष्ट्रिय टोलीले लगातार सफलता हासिल गर्दै नेपाली क्रिकेटप्रेमीहरुलाई खुसी बनाएको छ ।
तर, यो खुसीलाई कायमै राख्न नेपालले अझ धेरै मिहेनत गर्नुपर्ने पक्षलाई भुल्नु हुँदैन । आगामी यात्रा नेपालको लागि अझ चुनौतीपूर्ण रहेको तथ्यलाई मनन गर्दै तयारी गर्नु आवश्यक छ । उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट चरणमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ।