सामाजिक सुरक्षा योजनामा जोडिँदै श्रमिक, दुई महिनामा सवा लाख जोडिए

प्रकाशित मिति :  37 पटक हेरिएको

काठमाडौं- वैदेशिक रोजगारीमा जाने झण्डै सवा एक लाख श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी भएका छन् । सरकारले विशेष महत्वका साथ वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी सञ्चालनमा ल्याएको उक्त योजनामा एक लाख २२ हजारभन्दा बढी श्रमिक आबद्ध भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

यसरी जोडिनेमा अधिकांश नयाँ श्रम स्वीकृति लिने श्रमिकहरु छन् । विदेशमा कार्यरत श्रमिकलाई आबद्ध गराउने कार्य भने सुस्त देखिन्छ ।यस योजनामा सहभागी भएबापत दुई महिनाको अवधिमा श्रमिकले २० करोड रुपैयाँभन्दा बढी रकम योगदान गरेको कोषले जनाएको छ ।

‘सामाजिक सुरक्षा योजनामा विदेश जाने नेपालीहरुको उल्साहजनक सहभागिता देखिएको छ,’ कोषका सहप्रवक्ता रोहित रेग्मीले भने, ‘दुई महिनाको अवधिमा एक लाख २२ हजारभन्दा बढी श्रमिक आबद्ध हुनुले पनि आगामी दिनमा उल्लेख्य संख्यामा वृद्धि हुने संकेत देखिएको छ ।’ वैदेशिक रोजगारीमा रहेकाभन्दा श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको संख्या बढी भएको उनले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति लिन सामाजिक सुरक्षा योजनामा अनिवार्य योगदान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस कारण पनि उक्त योजना सञ्चालनमा आएयता एक लाखभन्दा बढी श्रमिक आबद्ध भएको देखिएको हो । चैत र वैशाख महिनामामात्रै एक लाख १५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ । यद्यपि, विदेशमा काम गरिरहेका श्रमिकहरु पनि सुरक्षा योजनामा आबद्ध हुने क्रम बढ्दो रहेको कोषको भनाइ छ ।

नयाँ श्रम स्वीकृति लिएर जानेको तुलनामा विदेशमा काम गरिरहकाको संख्या अहिले न्यून रहेको रेग्मीले जानकारी दिए । विदेशमा रहेका बढीभन्दा बढी श्रमिकलाई यस योजनामा आबद्ध गराउन जानकारीमूलक सन्देश प्रवाह गर्न कोषले आवश्यक गृहकार्य गरिरहेको उनले बताए । सरकारले विदेशमा रहेका श्रमिकहरुलाई सुरक्षा योजनामा सामेल गराउन पुनः श्रम स्वीकृतिको समयमा अनिवार्य आबद्धता हुनुपर्ने जनाएको छ । तर, नवीकरणको अवधि बाँकी रहेका श्रमिकहरुले पनि अनलाइन प्रणालीमार्फत योजनामा आबद्ध हुन पाउने व्यवस्था गरिएको छ ।

कोषले दुई महिनाअघि अर्थात् गत ८ चैतबाट सञ्चालनमा ल्याएको यस योजनामा वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका झण्डै ४० लाख नेपालीलाई समेट्ने लक्ष्य राखेको छ । यसअघि औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा कोषले वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई यस योजनामा सामेल गराउने व्यवस्था गरेको हो । सुरक्षा योजनामा आबद्ध हुने श्रमिकको संख्या र योगदान रकममा वृद्धि भएसँगै योगदानकर्ताले पाउने सेवा सुविधामासमेत हेरफेर गर्न सकिने कोषले जनाएको छ ।

सामाजिक सुरक्षा योजनामा आबद्ध हुन चाहने श्रमिकले मासिक दुई हजार दुई रुपैयाँ योगदान गर्नुपर्नेछ । सरकारले बार्षिक एकमुष्ट रकम जम्मा गरे १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । श्रमिकहरुले योगदान रकमलाई ई–सेवा, खल्ती, कनेक्ट आइपिएसमार्फत जम्मा गर्न सक्ने छन् । कोषमा वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेकाहरुलाई मात्र नभएर यही वैशाख १ गतेदेखि स्वदेशमा नै रहेका अनौपचारिक र स्वरोजगार, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिकहरुलाई समेत योजनामा आबद्ध गराउन सुरु गरिएको छ ।

योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउने छन् । योगदानकर्ताले आफूले जम्मा गरेको रकम र कोषले लगानी गर्ने उक्त रकमबाट प्राप्त हुने प्रतिफललाई जोडेर हुन आउने कूल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकमलाई वृद्धावस्थामा निवृत्तिभरणबापत मासिकरुपमा लिन पाउने कोषले व्यवस्था गरेको छ ।

यतिमात्र नभई कुनै कारण योगदानकर्ता दुर्घटनामा परे एक लाख रुपैयाँसम्म उपचार खर्च पाउने छन् । त्यस्तै विदेशमा रहेका योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च उपलब्ध गराउने कोषले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले मासिक न्यूनतम दुई हजार दुई रुपैयाँदेखि अधिकतम २८ हजार रुपैयाँसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया