काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति चीन भएकाले पनि कांग्रेसले सकारात्मक रूपमा लिएको बताए । उनले भने, ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ ।’ आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको पनि देउवाले बताए । ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु’ उनले भने ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङस“गको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताए ।
शनिबार साँझ भएको भेटमा सभापति देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) प्रति नेपालको समर्थन रहेको उल्लेख गर्दै बढी प्रतिफल हुने परियोजनामा लगानी सहयोगको अपेक्षा गरेको बताए ।
सभापति देउवाले नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको बताउँदै तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमणका बेला आफू पहिलोपटक प्रधानमन्त्री रहेको सम्झना गराए ।
भेटवार्तामा सभापति देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकी मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिने राष्ट्रपति सीलाई विश्वास दिलाएको बताए । राष्ट्रपति सीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन र दुवै देशले एकापसबाट व्यापार, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लाभ लिन सकिनेमा सभापति देउवाले भेटमा विश्वास व्यक्त गरेका थिए ।