काठमाडौ– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबारदेखि एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी बिहीबार साँझ शिक्षण अस्पताल महाजगञ्ज पुगेकी हुन् ।
शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट भेट गरेको बताइएको छ । प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाको जानकारी लिएपछि राष्ट्रपति भण्डारीले ओलीको उपचारमा संलग्न चिकित्ससँग कुराकानी गरेकी थिइन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग १५ मिनेट कुराकानी गरेपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग बुझेकी थिइन् ।
बोल्दा समस्या हुने भएकाले चिकित्सकले ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेतालाई छोटो समयमात्र भेट्न समय दिइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वार जारी विज्ञप्तिमा राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् । ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहीबार साँझ मनमोहन सेन्टर, महाराजगञ्ज आउनु भइ सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको उपचार र स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभयो’, थापाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यस्थितिमा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गर्नुभयो ।’
राष्ट्रपतिले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमार्फत् सल्लाहकार थापाले जानकारी गराएका छन् । मंगलबारदेखि सघनकक्षमा आराम गर्दै आएका प्रधानमन्त्री ओलीले बिहीबार दिउ“सो ट्विट गर्दैै आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएका छन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्नेहरूलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु ।’