काठमाडौं(प्रस)– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक आगामी १५ माघका लागि सरेको छ । यही २३ पुसदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक १५ माघलाई सरेको हो ।
नेकपाको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी ९ माघमा हुने राष्ट्रियसभाको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठकको मिति सार्ने निर्णय गरेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि जारी पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षपछि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । नेकपाको गत १९ मंसिरदेखि ६ पुससम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक डाकेको थियो ।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ ।