काठमाडौं– विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् ।
‘बैंक ह्याकिङ प्रकरण’मा संलग्न मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटर रहेको प्रहरीले जनाएको छ । उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उक्त घटनामा संलग्नमध्ये अहिलेसम्म १९ जना पक्राउ परेपनि अझै १५ जना भन्दाबढी फरार रहेको थापाले बताए ।
यसअघि पक्राउ परेका बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । ‘बैंकमा चेक साट्न जाँदै गर्दा नेपाललाई पक्राउ गरिएको हो, एक करोड रकम उनको बैंक खातामै छ’, थापाले भने उनी यसअघि पटकपटक रकम निकाल्ने प्रयास गरेपनि पक्राउ पर्न सकेका थिएनन् ।
उनीहरूले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु दश लाख हुन्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाएपनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । नेपाली एजेन्टका खाताखातामै पैसा पुगेको थियो ।
गत ५ असोजमा पानस रेमिट र कृषि विकास बैंकको प्रणाली ह्याक गरी उनीहरूले रकम निकाल्दै गर्दा १२ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनीहरूबाट तत्कालीन समयमा प्रहरीले रु ६५ लाख बरामद गरेको थियो ।
प्रहरीका अनुसार नाइजेरियाली र भारतीय नागरिकसँग मिलेर नेपालको बैंक तथा वित्तीय संस्थाबाट रु पा“च अर्ब रकम निकाल्ने योजना उनीहरूको प्रहरी अनुसन्धानबाट देखिएको थियो । तर, समयमै सूचना प्राप्त हुँदा उनीहरूको योजना विफल भएको थियो । भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए । शुक्रबार पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६ ०५:१२