काठमाडौं– नेपालमा बसेर चीनमा अपराध गरेको आरोपमा पक्राउ परेका एक सय २२ जना चिनियाँलाई दुईवटा चार्टर्ड विमानमार्फत निस्काशन गरिएको छ । चीनमा लगेर थप अनुसन्धान गर्न उनीहरूलाई नेपालबाट निस्काशन गरिएको हो ।
पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई अध्यागमन विभागका अध्यागमन अधिकृत पवन गुप्ताले उनीहरूलाई बुधबार साँझ ६ र ७ बजेको चिनियाँ विमानमार्फत फिर्ता पठाइएको जानकारी दिए । एउटा विमानमा ४२ र अर्काेमा ८० जना राखेर विमान चीन पठाइएको छ ।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही ७ पुसमा काठमाडौंको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले नेपाल बसेर चीनमा अवैध गतिविधि सञ्चालन गरेका थिए । २० पुसमा अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौंका प्रजिअ जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसलगत्तै प्रहरीले उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरूपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो जरिवाना चिनियाँ दूतावासले तिरिदिएको छ । विभागका अर्का अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले उनीहरूलाई चार वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी फिर्ता पठाइएको जानकारी दिए । अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्य्विधि २०६५ मा टेकेर सो निर्णय गरिएको उनले बताए ।