काठमाडौं– आइतबार बस्दै नबसी प्रतिनिधिसभा बैठक ६ माघसम्मका लागि स्थगित भएको छ । आइतबारका लागि तय गरिएको बैठक सभामुख चयनमा सहमति हुन नसकेपछि स्थगित भएको हो ।
यही ४ पुसयता पटक–पटक सूचना टाँस गरेर बैठक स्थगित हुँदै आएको छ । ११, १६ हुँदै २७ पुसलाई राखिएको बैठक आइतबार बस्दै नबसी ६ माघसम्मलाई स्थगित गरिएको सूचना जारी गरिएको छ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन नेकपाले निर्देशन दिएपनि राजीनामा दिन अस्विकार गरेपछि आइतबारको बैठक बस्न नसकेको नेकपा स्रोतले जनाएको छ ।
शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख डा.तुम्वाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, डा.तुम्बाहाम्फेले आफू नेकपाको सदस्य नभएको भन्दै राजीनामा दिन अस्वीकार गरेकी छन् । उपसभामुख डा.तुम्बाहाम्फेले पार्टीको निर्देशन समेत अस्विकार गरेपछि नेकपामा सभामुख चयन अन्यौल बन्दै गएको छ ।
यसै विषयमा आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष ओली र दाहालको छलफलमा उपसभामुख डा.तुम्बाहाम्फेलाई समेत बालुवाटार बोलाएर बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।
उपभसामुख डा.तुम्बाहाम्फेले नेताहरूको सुझावविपरीत आइतबारको बैठक सुचारु गर्ने जनाएकी थिइन् । नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा अध्यक्षद्वयबीच नै मतभेद हुँदै आएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली नेकपाका संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई नै सभामुख बनाउने योजनामा छन् भने अर्का अध्यक्ष दाहाल अग्नि सापकोटा वा पम्पा भुषालमध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा रहेका छन् । दुवै अध्यक्षले आफ्नो अडान नछाड्दा सभामुख चयन अन्योलमा परेको हो ।
यसैबीच उपसभामुख डा.तुम्बाहाम्फेले आफू नै सभामुख हुनुपर्ने अडान कायम राखेकप् छन् । उनले नेकपाको निर्णय र निर्देशनसमेत अस्विकार गर्दै आएका छन् । तर, यसले भविष्यमा डा.तुम्बाहाम्फको राजनीतिमा असर पर्ने नेकपाका नेताहरूले बताउन थालेका छन् । नेकपाकै कोटाबाट उपसभामुख बनेकी डा.तुम्बाहाम्फेले आफ्नो अडान एकोहोरो रटान गरेपछि नेकपामा तहल्का मच्चिएको छ ।