विराटनगर–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको ठूला, प्रदेशको मझौला र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘प्रदेश समन्वय परिषद्को तेस्रो बैठक’ को समापन समारोहमा अवसरमा उनले भने, ‘संघीय सरकारको ठूला योजना, प्रदेश सरकारले मझौला योजना र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।’ उनले यस्ता योजनाहरूको अनुगमन प्रभावकारी ढङ्गले गर्न पनि एउटा सशक्त समितिको आवश्यकता औँल्याए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग पनि समन्वय आवश्यक रहेको बताए । उनले अब हुने राष्ट्रिय जनगणना र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय तहले अहम भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।
समारोहमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्वबिना सरकार सञ्चालन गर्न नसकिने हुँदा यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहले कानून बनाएर कर उठाउनुपर्ने सुझाव दिए । यसो गर्दा अझ प्रभावकारी ढंगले राजश्व उठने उनको भनाई थियो ।
दुई दिने सो बैठकमा प्रदेशभरिका स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र प्रशासकीय अधिकृतको सहभागिता थियो ।