काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले ५ हजार जनता मारेको स्वीकार गरेका छन् । बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्ने बेलामा १७ हजार मारिएको भनिँदै आइएको भए पनि आफूले पाँच हजार जनता मात्र मारेको स्वीकार गरे ।
तत्कालीन माओवादी जनयुद्धमा माओवादीले १७ हजार मारेको कुरालाई इन्कार गर्दै अध्यक्ष दाहालले भने, ‘१७ हजार मारिए भन्ने हल्ला सत्य होइन ।’
अहिलेसम्म १७ हजार नेपाली मारिए भन्ने कुराको कुनै प्रतिक्रिया नदिइ बसेका उनले जनयुद्ध सकेको करिब १५ वर्ष यस्तो बताएका हुन् । उनले भने, ‘मलाई ताकेर साथीहरूले धेरै कुरा राख्नुभएको छ । ती सबै कुराको जवाफ दिन सक्दिनँ । म तथ्यांक मात्र सच्याउँन चाहन्छु । मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ । साथीहरू यो सत्य होइन ।’
अध्यक्ष दाहालले अगाडि थपे, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु । तर राजाले मारेको १२ हजारको कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन ।’
जनयुद्धको अन्त्यपछि प्रधानमन्त्री समेत बनेको अध्यक्ष दाहालले युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी लिने प्रष्ट पारे । उनले भने, ‘युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु । म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन ।’
साथै, अध्यक्ष दाहालले रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाउने दाबी गरेका छन् । ७ भदौ ०७२ कैलालीको टीकापुरमा एक बालकसहित सातजनाको हत्या घटनामा दोषी ठहर भएर जेलमा रहेका नेता थारु अगुवा चौधरीलाई छिट्टै छुटाउने आश्वासन उनले दिए । अध्यक्ष दाहालले रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतमा भारतको दिल्लीमा भेटेको स्मरण गर्दै भने, ‘रेशमसँग भेटेर खुलेआम कुरा राख्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्नेकुरा नबिर्सनुहोला । दोस्रो कुरा डिल्लीबजारको जेलमा गएर खोरमा गएर रेशमलाई भेट्ने पनि मै हो भन्ने कुरा बुझ्नुहोला ।’
यस्तै, उनले सभामुख र पार्टीलाई भेटेर कम्तिमा रेशमलाई माननीयको दर्ता दिनुपर्छ भन्ने मान्छे पनि आफैँ भएको स्पष्ट पारे । टीकापुर घटनाका झुटा मुद्दा खारेज गरेर रेशमलाई छुटाउने उनले प्रष्ट पारे । ‘टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेका केही साथीहरू छुटेका छन्’ उनले भने, ‘रेशमलगायतका साथीहरू छुट्न बाँकी छ । अब चाँडै छुटाइन्छ ।’