काठमाडौं(प्रस)– अग्नीप्रसाद सापकोटा स्वतः सभामुख हुने भएका छन् । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट नेता सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी स्वतः सभामुख हुने भएका हुन् ।
सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहका छन् भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् । संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।
यसैबीच संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गरेन । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा कांग्र्रेसले उम्मेदवारी नदिने निर्णय गरेको बताइन् । सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले कांग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको उनको भनाइ छ ।