कास्की, (प्रस)– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका सांसद दीपक मनाङेविरुद्ध मुद्दा दर्ता गराएका छन् । आफूलाई सार्वजनिक स्थानमा झापड हानेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्षलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । बुधबार उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङेविरुद्ध जाहेरी दर्ता गरेको बताए ।
यसअघि एन्फा अध्यक्ष गुरुङले आफूले प्रहरीमा जाहेरी दिने बताएका थिए । सांसद मनाङले पनि बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर घटनाबारे स्पष्टीकरण दिएका थिए । सांसद मनाङेले आयोजक भएर पनि खेलका लागि गम्भीर नभएकाले गुरुङलाई झापड हानेको बताएका छन् ।