काठमाडौं– पछिल्लो सातायता छिमेकी चीनबाट देखिएको ‘कोरोना भाइरस’ले सारालाई आतंकित बनाएको छ । यो भाइरस नेपालमा समेत देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । यो भाइरसबाट नेपाल खासै खतरामा नरहे पनि सजग हुन आग्रह गरिएको छ ।
यो जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन आग्रह गरेको हो । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा भएकाले सतर्क हुन सबैलाई अपिल गरेका छन् ।
चीनबाट नेपाल फर्किएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदा सो भाइरसको संक्रमण भेटिएको जनाइएको छ । भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । उनका अनुसार कोरोना भाइरस अध्ययनको विषय बनेको छ, तर धेरै भयावह स्थिति छैन ।
प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये तीनदेखि चार प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।
गत शुक्रबार चीनको वुहानबाट फर्किएको नेपालीमा कोरोना भाइरस भएको पुष्टि भएको सार्वजनिक भएसँगै एक किसिमको आतंक फैलिएको हो । तर, नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको समेत चिकित्सकहरूले बताएका छन् ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए । उनले अमेरिकालगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको बताए ।
कार्यक्रममा प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय नदेखिएको बताउँदै उनले भने, ‘हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि ? तर, खाशै नेपाललाई अहिले खतरा छैन ।’ चीनमा यो भाइरसबाट अहिलेसम्म ४१ जनाको मृत्यु भएको त्यहाँको स्वाथ्य मन्त्रालयले पुष्टि भइसकेको छ । तर, मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी रहेको बताइएको छ ।
कार्यक्रममा अर्का चिकित्सक डा. बाशुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वर आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरू अझै अध्ययनकै क्रममा रहेको बताए ।
विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरू अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए । नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरूको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए ।
चीनसँग जोडिएका नाकाहरू र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनको भनाइ छ । कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताललगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको बताइएको छ । यो भाइरस चीनका अलावा दक्षिण कोरिया, जापान, सिंगापुर, हङकङलगायतका मुलुकमा समेत देखिएको विभिन्न समाचारहरूमा जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ ०५:४०