काठमाडौं(प्रस)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको पेसीको सुनुवाइ आज हुने भएको छ । सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार हेर्न नमिलेको भन्दै आजका लागि पेसी तोकिएको हो ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतबार पेसी तोकिएको थियो तर, सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही १० माघमा दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लंघन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।
निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
प्रतिनिधिसभाले आइतबार सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भएपनि सो रिट निवेदनको सुनुवाइ भने आज तय भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६ ०६:०२