काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सामन्तवादविरुद्धको एउटा लडाइँ जिते पनि अर्को युद्ध भने जित्न बाँकी रहेको बताएका छन् ।
सोमबार आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणासभा तथा शपथग्रहण समारोहको उद्घाटन गर्दै उनले भने ‘हामी अझै एकताबद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जेजति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ ।’
उनले जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरूलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रममात्र हुन जाने बताए । ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ’ उनले भने ।
अध्यक्ष दाहालले पूँजीपतिहरू र साम्राज्यवादीहरूले जातीय प्रश्नको कुरा गर्दा जहिले साम्प्रदायिक विद्वेष फैलाउने र जाति जातिबीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताए । उनले भने, ‘तर कम्युनिस्टहरूले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जुवाहरू र साम्राज्यवादीहरूले भनेको भन्दा विल्कुल फरक कुरा हो । यहीनिर कहिले काँही बुद्धिजीविहरू पनि भ्रममा पर्ने गर्दछन् ।’
जातीय हकअधिकार साम्प्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको उनले स्पष्ट पारे ।