काठमाडौं – पाँच वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनबीच छलफल शुरु भएको छ । युनियनको चुनावको तयारीका लागि त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालको संयोजकत्वमा रहेको निर्वाचन समितिले मंगलबार विद्यार्थी सङ्गठनबीच छलफल भएको छ । छलफलको क्रममा निर्वाचन कार्यतालिकाका साथै आचारसंहिताबारेमा कुरा भएको विद्यार्थी नेताहरुले बताएका छन् । छलफलमा विद्यार्थी सङ्गठनका तर्फबाट निर्वाचन कार्यतालिका सम्बन्धमा सुुझाव भए केही दिनभित्रै उपलब्ध गराउने सहमति भएको छ ।
बैठकमा नेपाल विद्यार्थी सङ्घ अनुपस्थित थियो । अनेरास्ववियुका संयोजक ऐन महर, अनेरास्ववियु (छैठौं) अध्यक्ष विमल पोखरेल, अनेरास्ववियु (पाँचौं) धनश्याम मिश्र, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष हरि गजुरेलको सहभागिता थियो ।
बैठकमा त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले आङ्गिक नभइ सम्बन्धन प्राप्त क्याम्पसमा पनि त्रिविले पत्र पठाएर निर्वाचन गर्न निर्देशन दिनुपर्ने धारणा राखेका थिए । पटक–पटक रोकिएको स्ववियु निर्वाचन सबै क्याम्पसमा एकैपल्ट हुनुपर्ने कुरामा विद्यार्थी सङ्गठनहरु एकमत छन् ।
त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ सालमा २५० मात्र क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।
निर्वाचन समितिले केही दिनभित्र निर्वाचन कार्यतालिकालाई पूर्णता दिने भएको छ । अहिलेको सहमतिअनुसार आगामी फागुन ४ गते मतदाता सूची प्रकाशित गर्ने, मतदाता सूचीमाथि दाबी विरोध र मतदाता सूचीमाथि दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।
त्यसैगरी फागुन ५ गते उम्मेदवारको मनोनयनपत्र वितरण, उम्मेद्वारको मनोनयनपत्र र समानुपातिक तर्फबाट उम्मेदवारको नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ । फागुन ६ गते उम्मेवारको नमावलीमाथि परेको दाबी विरोध छानबिन गरी अन्तिम नामावली प्रकाशित हुनेछ । फागुन ७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावाली प्रकाशित गर्ने तथा फागुन १४ गते निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । स्ववियु निर्वाचनमा २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरुप हुने व्यवस्था छ ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ १७:३४