सरकार भन्छ, “चाँडै उद्दार गरिन्छ, तर, यसो भनेको साता दिन बित्दासमेत उद्दारको कुनै टुंगो छैन ।”
काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थी सरकारको बाटो हेर्दाहेर्दै एक साताभन्दा बढी बिताइसकेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रासमा रहेका नेपाली विद्यार्थीलाई सरकारले ‘चाँडै उद्दार गरिँदै छ’ भनेको समेत साता दिन बितिसक्यो, तर अझै कहिले उद्दार गरिन्छ भन्ने टुंगो छैन ।
कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फेलिरहेको छ । उक्त भाइरसको संक्रमणबाट त्यहाँ रहेका नेपाली त्रसित छन् । उनीहरू कोठा बाहिर निस्किने अवस्था छैन । सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले पटक–पटक ‘चाँडै उद्दार गरिन्छ’ भन्ने शब्द दोहोर्याउँदै आएका छन् भने पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली उद्दारका लागि तीन विमान तयारी अवस्थामा रहेको बताउँदै आएका छन् । तर, उनीहरूलाई कहिले उद्दार गरिन्छ भन्ने कुनै टुंगो छैन ।
सरकारले आफूहरूको उद्दारको चिन्ता नगर्दा चीनमा रहेका नेपाली विद्यार्थी झनै चिन्तित बनेका छन् । उनीहरू जतिचाँडो स्वदेश फर्कने चाहन्छन् । चीनमा सयौँको संख्यामा नेपाली विद्यार्थी रहेका छन् । उनीहरू कोरोना भाइरस आतंकले सुत्न सकेका छैनन् । उनीहरूले बेइजिङस्थित नेपाली दूताबाससमक्ष आफूहरू सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा एक साता अघि नै राखिसकेका छन् । तर, उनीहरूको सुनुवाइ सरकारले गरेको छैन । यहाँ सरकार पत्रकार सम्मेलन गर्छ, र चाँडै उद्दार हुन्छ भन्छ, तर तिथि तोक्न सकेको छ्रैन । त्यसैले पनि नेपाली विद्यार्थीको उद्दार अझै अन्योल नै देखिएको छ ।
‘हामी अहिलेसम्म स्वस्थ छौ“, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौँ’ एक नेपाली विद्यार्थीले नेपाली मिडियासँग भनेका छन् । उनले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिन दूताबास समक्ष आग्रह गरेको भए पनि सुनुवाइ नभएको गुनासो गरे । ती विद्यार्थीले भने, ‘हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौँ । तर जतिसक्दो यहाँबाट उम्कन चाहन्छौँ ं।’ तर, यता सरकारले चीनबाट उद्दार गरिएका विद्यार्थी कहाँ राख्ने भन्नेमा समेत निश्चित भइसकेको छैन ।
सबैभन्दा प्रभावित वुहान र त्यससँगै हुपै प्रान्तभित्रका सहरमा देखिएको छ । जहाँ सबै किसिमका यातायात निषेध गरिएको छ । जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूताबास अधिकारीले जनाएका छन् । वुहानमा रहेका नेपालीले यातायात पूरै बन्द भएका कारण दूताबाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन् । चीनमा उपचार विधि सुलभ र सुविधाजनक भए पनि उनीहरू नेपाल नै फर्कन चाहेका छन् ।
अमेरिकाले वुहानमा रहेको नियोग र आफ्ना नागरिकलाई स्वदेश लैजाने अपिल गरेका थियो । त्यस्तै फ्रान्स र जापानले पनि चार्टड विमानबाट आफ्ना नागरिकको उद्धार गर्ने जनाएको छ । सबैभन्दा प्रभावित हुपै प्रान्तको वुहान सहरमा हालसम्म कोही विदेशीमा भाइरस संक्रमण भएको पुष्टि भएको छैन । तर, कुनैपनि बेला संक्रमण हुन सक्ने उनीहरूमा त्रास छ । त्यहाँ दैनिक दर्जनौँ नयाँ संक्रमित देखिरहेका छन् ।
हालसम्म यस भाइरसबाट मृत्यु हुनेहरू सबै बढी वुहान शहरका हुन् र चीनका अन्य शहरमा र विदेशमा भेटिएका संक्रमितहरू पनि अधिकांश वुहानबाट गएका पाइएको छ । हाल चीनका अन्य धेरै शहरमा समेत संक्रमण फैलिन सक्ने भन्दै यातायातमा प्रतिबन्ध लगाइको छ ।
यसैबीच नेपाली दूतावासले वुहानमा रहेका नेपालीलाई लक्षित गरी सूचना आदान–प्रदान गर्न विच्याटमा समूह निर्माण गरेको छ । नियोग उपप्रमुख सुशिल कुमार लम्सालले दूतावासले चीन सरकार, हुपै प्रान्तीय सरकार र वुहान नगरपालिकासँग नियमित सम्पर्क गरिरहेको र नेपाल सरकारलाई यसबारे जानकारी गराइरहेको बताएका छन् ।
दूतावासले वुहानमा रहेका एक सय नेपाली विच्याट ग्रुपमा जोडिएको भने पनि हाल त्यहाँ ५०–५५ जना मात्र रहेको बुझिएको छ ।