परासी– पूर्वी नवलपरासीमा बुधबार ट्याक्टर दुर्घटना हुँदा चार जनाएको मृत्यु भएको छ । मेला हेरेर घर फर्किदै गर्दा सो दुर्घटना भएको हो । दुर्घटनामा पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका चार जनाको मृत्यु भएको हो ।
घर जानका लागि चढेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खसेको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताएका छन् । मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी मोहनबहादुर खाँडका अनुसार मृत्यु हुने सबै बुलिङ्टार–३ बतासाका हुन् ।
उक्त दुर्घटनामा परेका बलबहादुर झेडीको अवस्था गम्भीर छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मंगलबार राति बुलिङटारको छरछरेमा लागेको मेला हेर्न गएका थिए । घटनास्थल रजहरबाट उत्तर पहाडी क्षेत्रमा पर्छ । पहाडी गाउँमा सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले उनीहरू ट्याक्टरमा घर जाँदै थिए । सोही क्रममा ट्याक्टर दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६ ०५:२५