काठमाडौं– नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ । बिहीबार बसेको संघीय संसदको राज्यव्यवस्था समिति बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिइएको छ ।
क्षेत्रीले पदको दुरूपयोग गरेर अकुत सम्पति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो । उनले पदको दुरूपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएको लगायतको उजुरी परेको थियो । उजुरीमाथि सुनुवाइ गर्दै संसदको एक उपसमितिले आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो । उपसमितिमा सांसद रेखा शर्मा, नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेका छन् ।
यस्तै, सेनाको मुख्यालय पुर्ननिर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उच्चस्तरीय छानबीन टोली गठन गरी दोषीलाई कारबाहि गर्न माग दाबी गरिएको छ । समितिमा प्राप्त उजुरीहरूबारे अध्ययन गरी सुझाव दिन गठित कार्यदलले के कस्ता अनियमितता भएको हो ? सोबारे छानविन गरी कानुनअनुसार कारबाही गर्नका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउन सुझाव राज्य व्यवस्था समितिमा पेश गरेको छ ।
यसैबीच उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले बिहीबार शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उहाँले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गरे ।
उनले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताए । संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढ्ने गरेको प्रसंगमा उनले त्यसलाई आन्तरिकरूपमा एकबद्ध भएर समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।