काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले अनुकूल परिस्थितिका बाबजुद प्रभावकारी काम गर्न नसकेको आरोप लगाएको छ । वर्तमान सरकारले दुई वर्ष पूरा भएको अवसरमा पार्टीको आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेको हो ।
कांगे्रस केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले दुई वर्षको अवधिमा परिणामुखी ढंगले बिल्कुलै काम गर्न सकेन र अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई समेत आफैँले क्रमशः प्रतिकूल बनाएको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विशेष सम्बोधन गरेका थिए । सोक्रममा प्रधानमन्त्री ओलीले ‘वर्तमान सरकारले यो दुई वर्षमा विकासको आधारको जग बसाएको र आगामी वर्षहरूमा विकासको मुल फुट्ने’ आशय व्यक्त गरेका थिए । तर, प्रधानमन्त्री ओलीको भनाइ र सरकारप्रतिको कामबाहीप्रति प्रतिपक्षी दल कांग्रेस सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले ‘सबै राम्रो काम गरेको’ बताएपनि कांग्रेसले उपलब्धीमूलक काम नभएको टिप्पणी गरेको छ ।
‘यस अवधिमा न द्वन्द्वपीडितको मुद्दा हल गर्न सक्यो, न त लक्ष्य हासिल नै हुन सक्यो’ कांग्रेस प्रवक्ता शर्माले टिप्पणी गरे । कांग्रेसले परिमार्जित शिक्षा नीतिको लक्ष्य प्राप्ति, तुइन विस्थापनको घोषणा, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, बजार मूल्य नियन्त्रणलगायत लक्ष्य पुरा हुन नसकेको आरोप लगाएको छ ।
नेकपाको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नीति घोषणा गरेको कांग्रेसले यो अवधिमा शालीन र जिम्मेवार भूमिका निर्वाह गरेको उनले दाबी गरे । उनले भने, ‘कालापानीलगायत समग्र सीमा एवं राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार एवं लोकतन्त्र सुदृढीकरणको मुद्दा र समृद्धितर्फ यात्रा यी साझा विषयमा कांग्रेसले सरकारलाई खुला ढंगले साथ दिएको छ र दिने घोषणा गरेको छ । तैपनि सरकार अगाडि बढ्न सकेको छैन ।’
राष्ट्रियताको प्रश्नमा सरकारको अकर्मण्य भूमिका, संविधानको मर्मविपरीतका विधेयक एवं अनेक आर्थिक अनियमितता र भ्रष्टाचारको प्रश्नमा सरकारको विपक्षमा कांग्रेस उभिँदै आएको बताउँदै उनले सिंगो देशको समर्थन भएपनि सरकारले नेपालका कालापनी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनैतिक संवाद र परिणामुखी राजनैतिक पहल गर्न नसकेको आरोप लगाए ।