काठमाडाैं - भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।
भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल क्षेत्री र ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे ।
७० औं मिनेटमा सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले पूर्ण रुपमा बचाउन नसक्दा बारमा लागेर बाउन्स भएको थियो । त्यसैमा नेपाली डिफेण्डरले क्लियर गर्न नसकेको बलमा महेश सिंह नओरेमले हेडमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतसँग अहिलेसम्म खेलेका ९ मध्ये ८ खेलमा पराजय ब्यहोरेको छ ।
शनिबार बेंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा नेपालले कुवेतविरुद्ध खेलेको टिममा तीन परिवर्तन गर्दै विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङलाई पहिलो रोजाईँमा खेलाउँदा पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गरेको थियो, तर गोल भने गर्न सकेन ।
विमल र मनिषले गोल गर्ने अवसर गुमाउँदा एरिक विष्टको प्रहार भारतीय गोलकिपर गुरिप्रित सिंह सान्धुले बचाएका थिए । भारतले भने पाकिस्तानविरुद्ध खेलेको टिमबाट पहिलो रोजाईँमा ८ खेलाडी परिवर्तन गरेको थियो ।
यस नतिजापछि लगातार दुई खेल जितेका भारत र कुवेत अन्तिम खेलअघि नै समूह ए बाट सेमिफाइनल प्रवेश गरेका छन् ।नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् ।
अब नेपाल र पाकिस्तानबीच आउने मंगलबार हुने खेल औपचारिकता मात्र हुनेछ । नेपाल सन् २०१५ यता साफ च्याम्पियनसिपमा पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।
२०१८ मा ढाकामा सेमिफाइनल पुगेको नेपालले २०२१ मा माल्दिभ्समा फाइनल खेलेको थियो ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० ०७:२५