काठमाडौं - आयोजक मलेसियाको चुनौती ८४ रनले पन्छाउदै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ । शुक्रबार मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलको मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ३३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १८३ रन बनाउन सफल भएकाे हाे ।
यसअघि नै सेमिफाइनल स्थान सुरक्षित गरेको नेपालले शुक्रबार मलेसियालाई हराउँदा समूह ‘ए’ विजेता बन्न सफल भयो ।मेन अफ द म्याच घोषित अशोक धामीले नेपालको ब्याटिङ लाइनमा समेत योगदान दिदै ३६ बलको सामना गरेर ३ चौका र ५ छक्काको सहयोगमा ५२ रनको योगदान गरे । अन्य व्याट्सम्यानमा सूर्यांशु कोइरालाले २९ रन, नरेन खड्काले २९ रन बनाएका थिए ।
१ सय ८४ रनको विजय लक्ष्य जवाफी व्याटिङमा आएको मलेसिया ३० ओभार ५ बलमा ९९ रन बनाउँदा सबै विकेट गुमाउन पुगेको थियो ।नेपालका तर्फबाट मेन अफ द म्याच घोषित अशोक धामीले ४ विकेट लिए । उनले ७ ओभर खेलेर १४ रन मात्र खर्चेका थिए । त्यस्तै अभिषेक तिवारीले ३ विकेट लिए । सन्तोष यादवले २ विकेट लिँदा कृतिक कामतले १ विकेट लिए ।
नेपालसँग पराजित भएपनि मलेसिया पनि सेमिफाइलनमा पुग्दा दुबै खेल गुमाएको थाइल्याण्ड बाहिरिएको छ । नेपालले अब सेमिफाइनलमा समूह ’बी’को उपविजेता बनेको सिंगापुरसँग आगामी खेल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १५:४३