काठमाडौं - एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ ।नेपालले टस जितेर ३५ ओभरको खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गरेको हो ।
मलेसिया पनि समूह ए मा नै थियो ।समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो ।नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो ।
नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने छ भने मलेसिया नेपालसँग हारको बदला लिन चाहन्छ ।उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
एसीसी यू-१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ र त्यो लक्ष्य पूरा हुनबाट नेपाल एक कमदम मात्र टाढा छ ।एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।जारी प्रतियोगितामा धेरै रन बनाउने शीर्ष ९ को सूचीमा नेपालका दुई खेलाडी छन् । मलेसियाका कुनै पनि खेलाडी यो सूचीमा छैनन् ।
निरजकुमार यादवले एक अर्धशतकसहित १२४ रन बनाएका छन् । सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छन् । यस्तै सुर्यांशु कोइरालाले तीन खेलमा ११२ रन बनाएका छन् र नवौं स्थानमा छ ।बलिङतर्फ नेपालका सन्तोष यादव र अशोक धामीले समान ८ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो र चौथो स्थानमा छन् ।
दुवैलाई फाइनलमा विकेट लिंदै सर्वाधिक विकेट लिने बलर बन्ने अवसर छ ।मलेसियाका मुहमम्द अक्रमले पनि समान ८ विकेट नै लिएका छन् र उनी पाँचौ स्थानमा छन् ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० ०९:३२