काठमाडौं - पूर्वउपप्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा थापा दाजुभाइले पञ्चबहादुर गुरुङ र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
अव थापा दाजुभाइले फाइनल प्रवेशका लागि पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै सेमिफाइनलमा थापा दाजुभाइसँगको भेट पक्का गरेका हुन् ।
जननेता मदन भण्डारीको ७२औं जयन्तीको अवसरमा नेकपा एमालेनिकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१–८, २१–९ ले पराजित गर्दै सेमिफाइनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीसँगको भेट पक्का गरेका हुन् ।
दिलमान र यज्ञको जोडीले कर्ण थापा र एलबी साँवा लिम्बूको जोडीलाई २१–१९, १४–२१, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।यसअघि प्रतियोगिताको पूर्वप्रधामन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको उपस्थिति रहेको थियो । यस्तै अध्यक्ष ओलीले प्रतियोगिताका रेफ्री अनुपरत्न शाक्यलाई सटल कक हस्तान्तरण गरेका थिए ।
महासंघले राजनीतिककर्मीबीच विभिन्न समयमा हुने कटाक्ष र वैमनष्यतालाई खेलकुदको माध्यमले एकै थलोमा ल्याई भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।
प्रतियोगितामा संविधानसभा सदस्य, भूपू तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य एवं मन्त्रीहरु गरी ६४ जोडीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ०८:०३