काठमाडौं– नेपाली सेनाको संख्या घटाउने बहसले राष्ट्रिय राजनीति गर्माएको छ । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले र एमाले सांसद डा. विमला राई पौडेलले यो बहसलाई सतहमा ल्याएका हुन् ।
देश आर्थिक संकटमा गुज्रिरहेको तर्क गर्दै उनीहरूले सेनाको संख्या घटाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । देशमा द्वन्द्व नभएकाले पनि बढी देशलाई धेरै सेना आवश्यक नहुने उनीहरूको अर्को तर्क छ । सांसद वाग्लेले प्रतिनिधिसभा र राईले राष्ट्रिय सभामा यससम्बन्धी बारम्बार बहस चलाइरहेका छन् ।
सरकारको रक्षा रणनीतिअनुसार राष्ट्रिय सुरक्षाको जिम्मा सेनालाई छ । यति महŒवपूर्ण सुरक्षा निकाय सेनाको संख्या घटाउने बहसमा यतिबेला राजनीतिक दलहरू विभाजित बनेका छन् । अर्कातिर, रक्षा मामिलाका जानकारहरूले सेनाको संख्या घटाउने बहसलाई रुचाएका छैनन् । यस्तो बहस निरर्थक र राष्ट्रिय सुरक्षाको जिम्मेवार सैन्य शक्तिमाथिको प्रहारको रूपमा उनीहरूले बुझेका छन् ।
पूर्वमेजर प्रेमकुमार तामाङ सेनाको संख्या घटाउने बहसलाई प्रायोजित ठान्छन् । यस्ता बहस सेनालाई कमजोर बनाउने मनसायबाट चलाइएको रुपमा उनले अथ्र्याए ।‘सिङले भैँसी आफ्नो रक्षा गर्छ । त्यसरी नै देशको रक्षा सेनाले गर्छ,’ उनले प्रभावसँग भने, ‘तर, देश जोगाउने सेनाको संख्या घटाउने प्रस्ताव किन आयो ? कसरी आयो ? अहिले यति भनौं, यो बहस प्रायोजितरुपमा चलाइएको हो ।’
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार नेपाली सेनामा दरबन्दी ९६ हजार ४७७ जनाको छ । दरबन्दीअनुसार भने सैन्य जनशक्ति छैन । ८१ हजार २७७ जनामात्रै सेना छन् । १५ हजारभन्दा बढी सेनाको पद रिक्त छ ।अझ तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र विद्रोह पहिले त सेनाको संख्या निकै कम थियो । विद्रोहलाई दमन गर्न सेनाको संख्या बढाइएको थियो । त्यसमा पनि माओवादी शान्ति प्रक्रियामा आइसकेपछि जनमुक्ति सेनाहरूलाई नेपाली सेनामा समायोजन गरिएको थियो । त्यसबेलादेखि सेनाको दरबन्दी संख्या बढेको हो ।
यहीबेला सांसदद्वय वाग्ले र राईले सेनाको संख्या घटाउनुपर्ने प्रस्ताव ल्याएका हुन् । बिग्रेडियर जनरल डा. प्रेमसिंह बस्न्यात सेनाको संख्या घटाउनुको सट्टा बढाउँदै थप अत्याधुनिक हातहतियारको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताउँछन् । परम्परागत सेनाले अब देशको रक्षा गर्न चुनौतीपूर्ण हुने भन्दै उनले सेनाको संख्या नघटाई आधुनिकीकरणमा राजनीतिक नेतृत्वहरूको ध्यान केन्द्रित हुनुपर्नेमा पनि उनको जोड छ ।
‘जसले सेनाको संख्या घटाऔं भने त्यहाँ शंका गर्नुहोस्, ती अराष्ट्रिय तत्व हुन्,’ उनले भने, ‘देशभक्तिले सेनाको संख्या घटाऔं कहिल्यै भन्दैन,’ उनले भने, ‘बरु यस्तोबेला त सेनालाई थप अत्याधुनिक हातहतियारले सुसज्जित पार्ने, आधुनिकीकरणमा जोड दिने पो गर्नुपर्छ ।’
सेनाको संख्या घट्दा देशको शक्ति घट्ने तामाङ र बस्न्यातसहितका सैनिक अधिकारीहरूको मत छ । तर, सेना घटाउनेबारे बहसकर्ता सांसदहरू भने त्यसलाई अस्वीकार गर्छन् । उनीहरूको विचारमा वर्तमान आर्थिक संकटसँग जुध्ने उपाय नै सेनाको संख्या कटौती हो ।
२६ असारमा एमाले सांसद राईले बजेटमाथिको छलफल चलिरहँदा ८०–९० हजार सेना किन चाहिन्छ ? भन्दै रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लक्षित गर्दै प्रश्न गरेकी थिइन् । ‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयले ८०–९० हजार सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं,’ राईको प्रश्न थियो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी यसअघि परराष्ट्रमन्त्री थिइन् । उनले दिएको सेनाको संख्या घटाउने सम्बन्धी विचार भने पार्टीको आधिकारिक नभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन् । यद्यपि, यसबारे बहस अझै चलिरहेको छ ।
फेरि, छिमेकी देश भारतले अर्थतन्त्रमा संकट आउँदा घरिघरी सेनाको कटौती गर्ने गरेको छ । श्रीलङ्काले त यसअघि नै सेनाको संख्या घटाएको छ । यी दुई देशले गरेको सैन्य कटौतीको अनुशरण गरेर अर्थतन्त्रलाई लयमा फर्काउने एउटा जुक्ति हुने बहस थालनी गर्ने सांसदद्वय बताउँछन् ।
दुवै सांसदको सामाजिक सञ्जालहरूमा भने चर्को आलोचना भइरहेको छ । अमेरिकी सेना ल्याउने गोप्य योजनाअनुसार नेपाली सेनाको संख्या घटाउने प्रपञ्च रचेको अर्थमा कतिपयले बुझेका छन् । किनभने दुवै सांसद ‘अमेरिकी लबी’को रूपमा चिनिन्छिन् । यद्यपि, भिन्नभिन्न दलका हुन् ।
उनीहरूको अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्टि व्यक्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षाको महŒवपूर्ण अंगका रुपमा रहेको सेनालाई चलाउन नहुने राय प्रकट गरे । यसरी बहस गर्नुलाई उनले रहस्यमयी, अनुचित र दुर्भाग्यपूर्ण भनेका छन् ।
यसअघि रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्या घटाउन नहुने बताएका थिए । त्यसबारे सरकारको योजनासमेत नभएको धारणा संसद्मा राखेका थिए ।सत्तारुढ र धेरै विपक्षी दलहरू पनि सेनाको संख्या घटाउन नहुने पक्षमा छन् ।