काठमाडौं(प्रसं)– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुँडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा गत ११ पुसमा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् ।
यस्तै प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन् । उनीहरू पदमा वहाल रहँदा आफ्नोविरुद्ध प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ०५:२९