नयाँ दिल्ली– केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । उक्त आन्दोलनमा एक प्रहरी अधिकृतसहित कम्तिमा २३ जना मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । मोदी सरकारले सन् २०१९ को ११ डिसेम्बरमा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष–विपक्षमा भारतीय जनमत बाँडिएको छ । यसैक्रममा पछिल्लो समय यसले हिंसाको रूपमा लिएको छ ।
जिटीबी अस्पतालले बुधबार बिहानसम्ममा मात्र ५ जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरूमा प्रदर्शनकारी र प्रहरीहरू रहेका छन् । नयाँ दिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरूले सबै विद्यालयहरू बन्द गरेका छन् । ठाउँठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ । मंगलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरू र प्रहरी अधिकारीसँग कुराकानी गरेका छन् । दिल्ली उच्च अदालतको मंगलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेहरूको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ ।
हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । प्रहरीले बुधबार नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको थियो । यो भिडमा खासगरी जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरू, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए । उनीहरूले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।
गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरूबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार, मंगलबार र बुधबार डरलाग्दो रूप लिएको छ ।
नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानुनअनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर, तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो रहेको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँ दिल्लीमा जारी हिंसाका सम्बन्धमा पहिलोपटक आफ्नो धारणा प्रकट गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्र्दै उनले दिल्लीका उनका ‘दिदिबहिनी तथा दाजुभाइहरू’लाई सदा शान्ति तथा भाइचारा कायम राख्न अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ०५:३४