काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुँदैछन् । ओलीको मृर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिनेछ र उनलाई एक जना महिलाले मिर्गौला दिने भएकी छन् । गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन । यो प्रधानमन्त्री ओलीको दोस्रो मृगौला प्रत्यारोपण हो । यसअघि पहिलो पटक १३ वर्षअघि भारतको दिल्लीमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन् जो २१ वर्षकी थिइन् ।
गत हप्ता काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिनमात्र अस्पतालमा बस्ने र छैठौं दिनदेखि काम सुरु गर्ने बताएका थिए । आफू बिरामी भए पनि १७–१८ घन्टा काम गर्ने गरेको पनि उनले दाबी गरे । उनले दोस्रो पटकको मृगौला प्रत्यारोपण देशभित्रै गर्ने चाहनो राखेकाले प्रत्यारोपण शिक्षण अस्पतालमा हुने तय भएको हो ।