काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले प्रत्येक वर्ष फागुन २१ गतेका दिनलाई 'नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवस' का रूपमा मनाउने घोषणा गरेको छ । पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जिफन्टले यस्तो घोषणा गरेको हो ।
जिफन्ट महासचिव लक्ष्मण शर्माले भोलि सोमबार पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७७औं वार्षिकोत्सव समारोहको उद्घाटन गरिने जानकारी गराए । उनका अनुसार समारोहमा विभिन्न १६ देशका ट्रेड युनियन प्रतिनिधिहरूले भाग लिने छन् ।
२००३ फागुन २१ गते तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा नेपालमा ट्रेड युनियन आन्दोलनको प्रारम्भ भएको बताउँदै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समय यो आन्दोलन राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम बन्दै गएको मा दुःख व्यक्त गरे ।
'ट्रेड युनियन आन्दोन वर्गीय हो । तर यसलाई राजनीतिक हिसाबले विभाजित गरिँदै छ,' श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । पछिल्लो समय ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको स्वीकार्दै अध्यक्ष श्रेष्ठले यसको दोष वर्तमान सत्ता गठबन्धन भएको दाबी गरे ।
नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन अहिलेको सत्ता गठबन्धनले नक्कली ट्रेड युनियनहरू खडा गरेको जिफन्टको आरोप छ । जसका कारण वास्तविक श्रमिक वर्गको मुद्दा ओझेलमा परेको उनले बताए ।
'योगदानमा आधारित सामाजिक सुरक्षालाई फितलो बनाउने प्रयत्न भइरहेको छ,' अध्यक्ष श्रेष्ठले भने । उनले वैदेशिक रोजगारीलाई युवाहरूमा बाध्यात्मक बन्दै जानु ट्रेड युनियनहरू माथिको प्रहारको परिणाम भएको दाबी गरे ।
श्रमिजीवि वर्गका सबै खाले समस्यालाई समाधन गर्दे सुमधुर श्रम सम्वन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रुपान्तरणमा लाग्न आफूहरू प्रतिवद्ध रहेको बताउँदै जिफन्टले अब हरेक वर्ष फागुन २१ गतेको दिनलाई मजदुरहरुको महान चाडको रुपमा मनाउने घोषणा गरेको छ ।