भक्तपुर - नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढंगले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए ।
उनले भने, “सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ । गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौँ ।”
प्रधानमन्त्रीसँग नयाँ ढंगले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए । यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ ।
अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए ।