काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) प्रभावित चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबार घर फर्किएका छन् ।
नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार संकलन गरिएको नाक र घाँटीको स्वास परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नपाइएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा आइतबार घर फर्काइएको हो ।
उनीहरूलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए । उनीहरूलाई आइतबार बिदाइ गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए । उनले क्वारेनटाइन राख्न हुँदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा आइतबार त्यही आएर बिदाइ गरेका थिए ।
यसअघि यही २४ फागुनमै उनीहरूको नाक र घाँटीको स्वाब नमूना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४औँ दिनमा शनिबार स्वाब नमूना संकलन गरिएको थियो ।
यस्तै, खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने आइतबारसम्म रिपोर्ट आएको थिएन । शनिबार नाक र घाँटीको स्वाब नमूना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरूको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना संक्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो । मन्त्रालयका अनुसार १७५ जनामध्ये एक जनामा मात्रै कोरोना संक्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरी अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहेका नेपाली सेनाका क्याप्टेन डा निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६ ०५:३५