- ‘माधव नेपालको नाम लिएर म एकछिनपछि मुख कुल्ल गर्छु । यस्ताको नाम किन लिने देशका कुलंगार अन्तर्घाती, अन्तरध्वंशी हुन् । त्यस्ताको नाम किन लिने ?’ हेटौंडामा भएको चुनावी सभामा ओली चर्किएका थिए ।
- झण्डै दुई वर्षपछि ओली बिरामी माधव नेपाललाई भेट्न कोटेश्वरमा
काठमाडौं– पार्टी विभाजनसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालीबीचको सम्बन्ध तीक्ततापूर्ण बनेको थियो । नेपालसँग आक्रोशित ओली उनको नामै लिन चाहँदैनथे । २०७९ को स्थानीय निर्वाचनअघिको चुनावी सभामा ओलीले नेपाललाई कुलंगार, अन्तर्घाती, अन्तरध्वंशीलगायत आरोप लगाउन भ्याए ।
‘माधव नेपालको नाम लिएर म एकछिनपछि मुख कुल्ल गर्छु । यस्ताको नाम किन लिने ? देशका कुलंगार अन्तर्घाती, अन्तरध्वंशी हुन् । त्यस्ताको नाम किन लिने ?,’ हेटौंडामा भएको चुनावीसभामा ओली चर्किएका थिए ।
एकै घरका दुई नेता सत्ताको लुछाचुडीका कारण यस्तो तीक्तता साँध्ने गरी उत्रिएका थिए । नेकपा एमाले छाडेर एकीकृत समाजवादी पार्टी गठन गरेका कारण नेपालमाथि रिस थियो । त्योमात्र हैन हुँदाखाँदाको नेकपाको सरकार ढालेर पार्टी नै तीन टुक्रा हुँदाको पीडा थियो ओलीको ।
सत्ता जाँदा आक्रोशित ओली सत्ता पाउँदा फेरि नेपालकहाँ धाउन थालेका छन् । हरेक मञ्चहरुमा नेपालमाथि कटाक्ष गर्ने ओली एकाएक नेपालसामु झुक्नुपर्ने अवस्था किन आयो ?
एउटै कारण हो– नयाँ गठबन्धन जोगाउनु ।
कांग्रेसलाई गठबन्धनबाट निकालेर अहिले एमालेसहितको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेको केही समयमै किचलो सुरू भइसकेको छ । गृह र अर्थ मन्त्रालयमा कुरा नमिल्दा प्रधानमन्त्री दाहालले तीनजनालाई तत्कालका लागि विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका छन् । भागबण्डामा मात्र हैन सत्ता जोगाउने नम्बर नै नपुग्ने देखिएपछि ओली कोटेश्वरस्थित नेपाल निवास धाएका हुन् । एकीकृत समाजवादीले तत्काल सरकारमा जाने इच्छा देखाइरहेको छैन । ‘प्रधानमन्त्री दाहालमात्र गए पनि हुने हो । तर उहाँलाई मात्र नमान्ला भनेर ओली पनि जानुभएको हो,’ प्रधानमन्त्रीनिकट एक नेताले भने ।
मंगलबार जुटेको चार दलसँग अहिले १४१ सांसद छन् । एमालेबाट ७८ (सभामुखसहित), माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २१ र जनता समाजवादी पार्टीबाट १२ जना सांसदको वर्तमान सरकारलाई समर्थन छ । बहुमतका लागि १३८ सांसद चाहिन्छ । रास्वपाले गृहमन्त्रीमा दाबी गर्दै गठबन्धनमा असन्तुष्टि पोखिसकेको बेला दाहाल–ओली गठबन्धनले एकीकृत समाजवादीलाई समर्थनका लागि जोड गरेको बताइएको छ । एकीकृत समाजवादीसँग १० सांसद छन् । नेपालले समर्थन जनाए रास्वपाले गठबन्धनलाई अप्ठेरोमा पार्न नसक्ने बुझाइ ओली–दाहालमा देखिएको छ ।
रास्वपाको अडान कायमै
नवगठित सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउन रास्वपाले सरकारमा उपप्रधानसहित गृहमन्त्रीको दाबी छाडेको छैन । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफूलाई नै यो मन्त्रालय कायम गर्न माग गर्दै मंगलबार बालकोट पुगे । रास्वपाले यो माग पूरा नगरे कांग्रेससँग गठबन्धन गर्ने संकेत गरेको छ ।
रास्वपाका नेताहरुले कांग्रेसले सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको दाबी गरेका छन् । कांग्रेस संस्थापनइतरका नेताहरु लामिछानेलाई प्रधानमन्त्री दिएर भए पनि दाहालसँग बदला लिनुपर्ने बताउँछन् । ‘दाहालले पटक–पटक धोका दिइसकेका छन् । त्यसैले लामिछानेलाई प्रधानमन्त्री बनाएर भए पनि बदला लिनुपर्छ,’ डा. शेखर कोइराला निकट नेता बताउँछन् ।
रास्वपाको अडानी नियन्त्रणबाट फुत्कन प्रधानमन्त्री दाहाल र ओली नेपालकहाँ पुगेका प्रस्ट देखिन्छ । यतिमात्र हैन दाहाल–ओलीले छ सांसद भएको जनमत पार्टी र चार सांसद भएको नागरिक उन्मुक्तिकोसमेत समर्थन खोजेको छ । तर जनमतले मधेस प्रदेशमा र नागरिक उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्री मागेका छन् ।