काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले हालसम्म समस्याग्रस्त सहकारीको संस्था १८ पुगेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दाहालले यस्तो जानकारी दिएका हुन् । ‘हालसम्म १८ वटा सहकारी संस्थाहरूलाई सहकारी ऐन, २०७४ बमोजिम समस्याग्रस्त सहकारी संस्था घोषणा गरी सम्पत्ति र दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले भने ।
सहकारीसँग जोडिएको समस्या समाधानका लागि काशीराज दाहाल नेतृत्वको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यी सहकारीहरूको पहिचान गरेको हो । समितिका अनुसार यी सहकारीहरूमा ११ हजार ९ सय ७ बचतकर्ताले ४ अर्ब २५ करोड बढी रकम माग गरेको छ । बचतकर्ताको रकम हिनामिना गरेकै कारण वित्तीय सहकारीहरू समस्यामा पर्दा आर्थिक संकटसमेत गहिरिएको छ ।
सबैभन्दा रमाइलो विषय फेरि उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेको ‘कनेक्सन’ रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालाई भने समस्याग्रस्त सूचीमा अटाएको छैन । जबकि सरकारले समस्याग्रस्त घोषणा गरेको १८ सहकारीको कुल अपचलन ४ अर्ब छ भने रवि–जिबी जोडिएको सूर्यदर्शनले बचतकर्ताको १६ अर्ब रुपैयाँ रकम अपलचन गरेको देखिएको छ । यो प्रकरणमा माओवादी नेतासमेत रहेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पनि जोडिएका छन् । तर माओवादी नेतृत्वको सरकार रहेका कारण उनी जोगिँदै आएका छन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी जिबी समूहको सहकारी हो । दिपेश सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव हुन् ।
यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेपाल कांग्रेसले प्रश्न उठाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेतिर लक्षित गर्दै आरोपित त कोही न कोही होलान् भनी कटाक्ष गरे । ‘नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु,’ लेखकले भने, ‘यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ भन्ने मेरो आग्रह छ ।’ दाहाल नेतृत्वको सरकारले टेरामक्स प्रकरणमा मुछिएको भन्दै कांग्रेसबाट स्वास्थ्यमन्त्री भएका मोहन बस्नेतलाई राजीनामा दिन दबाब दिएको विषयमा लेखकले लामिछाने लक्षित मन्तव्य राखेको कांग्रेसले जनाएको छ ।
समस्याग्रस्त सहकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान थालेको प्रधानमन्त्री दाहालको भनाई छ । ‘समस्याग्रस्त घोषणा गरिएका र समस्याउन्मुख देखिएका सहकारीका सञ्चालक र व्यवस्थापक एवं सम्बन्धित पदाधिकारीहरूबाट नागरिकको बचत रकम अपचलन र आर्थिक अनियमिततामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत अनुसन्धान भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने । गृहमन्त्री लामिछानेमाथि पनि सहकारी ठगीको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ । जबकि सिआइबीको नेतृत्वमा भने उनी नै पुगेका छन् । यसअघि लामिछाने दोहोरो नागरिकता लिएको आरोप चलिरहँदा गृहमन्त्री बनेका थिए । उनले दोहोरो नागरिकता लिएको पुष्टि भएपछि उनको सांसद पद, मन्त्री पद एकैचोटि गएको थियो । गत वैशाख १२ गतेको उपनिर्वाचनबाट लामिछाने पुनः चितवन–२ बाट निर्वाचित भएका हुन् ।
उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ । सँगै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गरिरहेको छ ।
वित्तीय सहकारीको नियमन गर्नुपर्ने माग उठेकोमा यसकारे कुनै निर्णय हुन सकेको छैन । डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानुनको तयारी थालिएको थियो । यही कानुन अनुसार समस्याग्रस्त सहकारीमा मुछिएका व्यक्तिहरूलाई पक्राउ गर्ने तयारीसमेत सरकारले गरेको थियो । तर कानुनको मस्यौदा भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयमा पुगेर अड्किएको छ । सहसचिव कृष्णप्रसाद सापकोटाले मस्यौदा तयार पार्न नसकेपछि सबै काम रोकिएको मन्त्रालयका कर्मचारीहरू आरोप छ । मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी भने कानुनको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै आलटाल गर्छन् ।
समस्याग्रस्त १८ सहकारी
कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड
स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेड
सोसाइटल बचत तथा ऋण् सहकारी संस्था लिमिटेड
प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
चार्टड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
ओरेन्टल को अपरेटिभ लिमिटेड
कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेड
भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
पशुपती सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड