- १० दल रहेको मधेस प्रदेशमा सात सिटसहितको एकीकृत समाजवादीले जुन दललाई साथ दिन्छ उसैको नेतृत्वमा सरकार बन्ने
- मधेस प्रदेशमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका लागि जनमत पार्टीका अध्यक्ष सिके राउत टाउको दुखाइको विषय
- संघीय सरकारमा एकीकृत समाजवादी सहभागी नभए मधेस प्रदेशको सरकार जोगाउन भए पनि जसपा दाहाल सरकारमा नजाने अडानमा थियो
काठमाडौं– संघीय सरकारमा एकीकृत समाजवादीको प्रवेशपछिमात्र निर्णय गर्ने भनिएको जनता समाजवादी पार्टीका नेताहरुले मन्त्रीमा अझै शपथ लिएका छैनन् । जसपाको अडानअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै एकीकृत समाजवादीका दुई मन्त्री भानुभक्त जोशी र धनबहादुर बुढा सरकारमा सहभागी भइसकेका छन् ।
जोशी संघीय मामिला र बुढा सहरी विकासमन्त्री भएका छन् । तर जसपाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाए पनि शपथ लिएका छैनन् । जसपाले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । उपेन्द्रले स्वास्थ्य र साहले वन मन्त्रालय सम्हाल्नेगरी जसपा सरकारमा जान लागेको हो । यसैगरी एक राज्यमन्त्रीसमेत जसपाले पाउने भएको छ ।
जसपाले संघीय सरकारमा जानका लागि एकीकृत समाजवादीको भरपर्दो साथ खोजेको थियो । ‘एकीकृत समाजवादीलाई मनाउनुस् । उहाँहरुलाई सरकारमा ल्याउनुभए हाम्रो पनि साथ रहन्छ,’ यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भनेका थिए । त्यसैअनुरुप प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई नेपाल निवास कोटेश्वर पु¥याएको जसपाका एक नेताले बताए । मधेस प्रदेशमा जसमा नेतृत्वमा सरकार रहेको छ । जसपालाई मधेसमा एकीकृत समाजवादीको साथ अति आवश्यक रहेकोले नेपाललाई मनाउनुको विकल्प नदेखेपछि माधव निवासमा ओली पुगेको ती नेताले दाबी गरे ।
१०७ सदस्यीय मधेस प्रदेशमा २३ सिटसहित नेकपा एमाले पहिलो दल हो । कांग्रेस २२ सिटसहित दोस्रो रहेको छ । संघमाझैं यहाँ पनि १९ सिट रहेको तेस्रो दल जसपाले प्रदेश सरकारको नेतृत्व सम्हालेको छ । जसपाका सरोज यादव मुख्यमन्त्री छन् । १३ सिटसहित चौथो रहेको सिके राउतको पार्टी जनमत अहिले जसपाका लागि टाउको दुखाइको विषय बनेको छ । केही समयअघि कृषि क्याम्पस उद्घाटनको विवादका कारण जनमतले सरकार छाडिसकेको छ । अहिले यही मौका छोपी जनमतले मधेसमा मुख्यमन्त्री दाबी गरेको छ ।
मधेसमा नौ सिटसहित लोसपा पाँचौं, आठ सिटसहित माओवादी केन्द्र छैटौं र सात सिटसहित एकीकृत समाजवादी सातौं दल छ । यसैगरी चार स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सिट छ । केन्द्रमा भएको तालमेलअनुसार मधेस प्रदेशमा एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा सदस्यको संख्या जोड्दा ५८ पुग्छ । यहाँ सरकार निर्माणका लागि ५४ जना प्रदेशसभा सदस्य भए पुग्छ । त्यसैले एकीकृत समाजवादी हुँदामात्र जसपालाई सत्ता जोगाउन सहज हुन्छ ।
कांग्रेसले छाडेन सरकार
संघमा सत्ता समीकरण बदलिँदा पनि मधेस प्रदेशमा महŒवपूर्ण मन्त्रालय सम्हालेको कांग्रेसले सरकार छाडेको छैन । यहाँ कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ । कृष्ण भौतिक पूर्वाधार विकासमन्त्री छन् । वीरेन्द्रप्रसाद सिंह स्वास्थ्यमन्त्री छन् । मोहम्मद समिम गृह, सञ्चार तथा कानुनमन्त्री छन् । कर्णाली र बागमतीमा कांग्रेस सरकारबाट बाहिरिसकेको अवस्थामा मधेस प्रदेशले अझै कुनै निर्णय गरेको छैन ।
नयाँ गठबन्धनले भने कांग्रेसलाई मधेस सरकारबाट ‘आउट’ गर्ने तयारी गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । संघीय गठबन्धनअनुसार कांग्रेसले सम्हालेको मन्त्रालय एमालेलाई दिने गरी एक दुई दिनमै मन्त्रिपरिषद् पुनर्गठन गरिने मुख्यमन्त्री यादवले बताए ।
जनमतको दाबी मुख्यमन्त्रीमा
जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व बदल्ने सहमतिपछि मात्र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने भएको छ । जनमतको बुधबार बसेको सचिवालय बैठकले मधेस सरकारको नेतृत्व फेरिए मात्र सरकारमा सहभागी हुने बटमलाइन तय गरेको हो ।
जसपाबाट नेतृत्व खोसिने ग्यारेन्टी भएमात्र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने सर्त जनमतले राखेको छ । ‘मधेस प्रदेशको नेतृत्व जनमतलाई दिनुपर्ने विषयमा छलफल भयो । हामीलाई नेतृत्व नदिए जसपाबाहेकले नेतृत्व गर्नुपर्छ । यसमा सहमति भएपछि मात्र सरकारमा जानेछौं,’ जनमतका सविच बिपी साहले भने । उनले सरकारमा सम्मानजनक सहभागिता चाहेको बताए । उनले भने, ‘मन्त्री दिने तर सहकार्य र समन्वय नगर्ने समस्या विगतमा देखियो । यो समस्या आउनु हुँदैन । यस विषयमा पनि सहमति हुनुपर्छ ।’
जनमतलाई कांग्रेसले सघाएमा यहाँ लोसपासहित ४४ सिट पुग्छ । यहाँ राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सिट छ । यसो गर्दा पनि जनमतलाई मुख्यमन्त्रीका लागि मत पुग्दैन । चार स्वतन्त्र सांसदले साथ दिँदा ५१ मात्र पुग्छ । एकीकृत समाजवादीले साथ दिएमामात्र जनमतले मुख्यमन्त्री पाउने देखिन्छ ।