कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवातर्फका सचिव डा. रेवतीरमण पौडेलले कृषि विभागमा महानिर्देशक हुँदा प्रयोग गरेको सरकारी क्वाटर अहिलेसम्म छाडेका छैनन्
काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवातर्फका सचिव डा. रेवतीरमण पौडेलले कृषि विभागमा महानिर्देशक हुँदा प्रयोग गरेको सरकारी क्वाटर अहिलेसम्म कब्जा गरिरहेका छन् । कीर्तिपुरस्थित बागवानी केन्द्रमा रहेको सरकारी निवास लामो समयदेखि उनले कब्जा जमाएका हुन् । सचिव पौडेलले करिब चार वर्षदेखि उक्त भवन प्रयोग गरिरहेका छन् ।
विगतका कृषि विभागको महानिर्देशकका लागि सो क्वाटर उपलब्ध गराउँदै आइरहेको थियो । उनी कृषि विभागको महानिर्देशक हुँदा लिएको सो सरकारी भवन अहिले सचिव हुँदासम्म छाडेका छैनन् । वर्तमान सचिव पौडेल त्यसबेला सहसचिव हुँदा महानिर्देशकको पद सम्हालेलगतै उक्त क्वाटर आफ्नो मातहतमा राख्न लगाएका थिए । र, अहिलेसम्म पनि छाड्न मानेका छैनन् । बागवानी केन्द्रले उक्त भवन छाड्न पटक–पटक आग्रह गरेको भए पनि कर्मचारीलाई कार्यसम्पादन मूल्यांकन घटाइदिने भन्दै नछाड्ने अडानमा सचिव पौडेल रहेको केन्द्रका कर्मचारीहरु बताउँछन् ।
उनले सो सरकारी भवनलाई आफ्नो निजी जस्तै गरी कब्जा गरिरहेका छन् । पौडेल केही समय महानिर्देशक भए र सरुवा भई लुम्बिनी प्रदेशको मन्त्रालयमा सरुवा भएर गए । तर उनले क्वाटर छाडेनन् । एक वर्ष प्रदेशसचिव हुँदा क्वाटर नछाडेका पौडेलले त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सहसचिवका रुपमा सरुवा भएर आएपछि त क्वाटर छाड्ने कुरै भएन । उनले महानिर्देशकले पाउनुपर्ने क्वाटर अरूलाई दिँदै दिएनन् तालाबन्दी गरेर राखे । मन्त्रालयमा भित्रभित्रै सरकारी क्वाटर दुरुपयोग गरेको चर्चा चले पनि मन्त्रालयका कर्मचारीहरुले बाहिर ल्याउन सकेका छैनन् । कृषि मन्त्रालयमा सहसचिवका रुपमा जिम्मेवारी सम्हाल्दा पनि उनले त्यही क्वाटर लिएर बसे ।
पछि उनी वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त भएपछि वरीयता क्रमका आधारमा कायममुकायम सचिव भए । तर पनि उले कृषिको उक्त क्वाटर छाडेनन् । केही समयपछि उनी पूर्णरुपका सचिव भएर बन मन्त्रालयमै काम गरिरहँदा पनि कृषि मन्त्रालय मातहतको क्वाटरमा रजाइँ गरि नै रहे ।
वन मन्त्रालयको सचिवमा रुपमा रहँदा कृषिको क्वाटर कब्जा गरेको विषयमा पौडेलसँग जिज्ञासा राख्दा उनले केही दिनमै क्वाटर छाड्ने जानकारी दिएका थिए । तर क्वाटर मोहमा रहेका पौडेलले छाडेनन् ।
वन मन्त्रालयबाट सरुवा भएर उनी अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवातर्फका सचिवमा कार्यरत छन् । मन्त्रालयको सचिव हुँदा पनि उनले महानिर्देशकले प्रयोग गर्ने भनिएको कीर्तिपुर फार्मको सरकारी भवन छाडेका छैनन् । बरू उनी आगामी वैशाख २५ गते उमेर हदका कारण अवकाश हुँदै छन् त्यसपछि मात्र क्वाटर छाड्ने मनस्थितिमा पुगेका देखिन्छन् ।
गैरकानुनी रुपमा सरकारी भवन सचिवले लामो समयदेखि उपभोग गर्दै आइरहेको विषयमा कृषि विभागका महानिर्देशक खासै बोल्न चाहँदैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु पनि यस विषयमा खुल्न चाहँदैनन् । महानिर्देशक पद छाडेको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि महानिर्देशकका रुपमा पाएको सरकारी भवन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेका पौडेल अहिले कृषि मन्त्रालयमा नै सचिव भएर आएपछि अरूले बोल्ने त आँट गर्दैनन् ।
सचिवजस्तो उच्च ओहोदामा बसेका पौडेलले सरकारी भवन नियमविपरित कब्जा गरेर बसिरहँदा पनि सरोकारावाला निकाय भने मौन देखिन्छ । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि छानविन भने भएको देखिँदैन ।