- हालै पार्टीको बागमती प्रदेश सहइञ्चार्जको जिम्मेवारी नारायण र सुदूरपश्चिम सहइञ्चार्जको जिम्मेवारी बुहारी बिनालाई दिएका थिए
- छोरी रेणुलाई दोस्रोपटक भरतपुरका मेयर बनाएका दाहालले कान्छा ज्वाइँ जीवन आचार्यलाई कोशी प्रदेशमा यसअघि मन्त्री बनाए
काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारवाद र नातावादको अधिक पक्षपोषक भएको देखिएको छ । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायणप्रसाद दाहाललाई बनाएर दाहालले पुनः त्यसको पुष्टि गरेका छन् ।
नारायण प्रधानमन्त्री दाहालका काकाका छोरा हुन् । आइतबार दाहालकै अध्यक्षतामा बसेको पार्टी संसदीय दलको बैठकले नारायणलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘पार्टीमा अधिक त्याग र संघर्षका आधारमा उहाँ (नारायण)लाई उम्मेदवार बनाउने निर्णय भएको छ, र उहाँले उम्मेदवारी दिनुहुन्छ,’ पार्टीका एक जना पदाधिकारीले प्रभावलाई बताए ।
यसअघि अध्यक्ष दाहालकै सिफारिसमा नारायणलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । त्यसबेला पनि उनी आलोचित भएका थिए । तर, त्यसको मतलब नराखी आइतबार पुनः राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाए ।
चितवन स्थायी ठेगाना भएका नारायण २०३१ सालदेखि राजनीतिमा सक्रिय छन् । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि भने २०६३ मा नारायण अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचन चितवन–३ मा जितेका थिए । २०७० मा चाहिँ पराजित भए । उनी अध्यक्ष दाहालको सल्लाहकार र स्वकीय सचिव भएरसमेत काम गरिसकेका छन् ।
उनलाई राष्ट्रिय सभा अध्यक्ष पदमा गठबन्धनका दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका सांसदहरूले मतदान गर्ने छन् । यी दलहरूको मत प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भन्दा बढी छ । वर्तमान गठबन्धन दलका सांसदहरूले मतदान गरे नारायण राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुने निश्चित छ । त्यही भएर प्रधानमन्त्री दाहालले भाइलाई उम्मेदवार बनाउने निर्णय गराएका हुन् ।
अब भोलि मंगलबार हुने निर्वाचनमा उनलाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, एकीकृत समाजवादी र जसपालगायत दलका सांसदहरूले मतदान गरी निर्वाचित गराउने अपेक्षा गरिएको छ । माओवादी नेता लेखनाथ न्यौपाने अध्यक्ष दाहाल परिवारवाद र नातावादमा फसेको बताउँछन् । यसले पार्टीका इमानदार नेता कार्यकर्ता पछि पर्ने र आफन्तले भने पटकपटक लाभको पद पाउने अवस्था हुने उनले बताए । यस्तो कार्यले नेतृत्वप्रति कार्यकर्ता तहमा नैरश्यता उत्पन्न गराउने भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘पार्टीले पाउने सबै अवसरमा अध्यक्ष कमरेडले आफ्ना मान्छेमात्रै खोजी गर्नुभयो भने त्यो ठीक होइन । जसले पार्टीपंक्तिमा समस्या पैदा गर्नसक्छ,’ न्यौपानेले भने ।
हुन पनि दाहालले यसअघि मात्रै भाइ नारायणलाई पार्टीको बागमती प्रदेश कमिटीको सहइञ्चार्ज बनाएका थिए । बुहारी बिना मगरलाई पनि सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बनाए । बिना पार्टी केन्द्रीय सदस्यमात्रै हुन् । तर, स्थायी कमिटी सदस्यहरूलाई पाखा लगाउँदै बुहारी बिनालाई नेतृत्वदायी भूमिका दिँदै दाहालले परिवारवादी नेताको पहिचान बनाए । यसप्रति पार्टी उपमहासचिव जनार्दन शर्माले आपत्ति जनाउँदै आएका छन् ।
अध्यक्ष दाहालले यसअघि बिनालाई खानेपानीमन्त्री नै बनाएका थिए । उनलाई समानुपातिक सांसदसमेत बनाए । यस्तै, कोशी प्रदेशमा कान्छा ज्वाइँ जीवन आचार्य सांसद छन् । उनलाई यसअघि एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री बनाए । अध्यक्ष दाहालको परिवारवाद र नातावाद यहीँ भने टुंगिदैन ।
छोरीहरु रेणु र गंगा दुवै पार्टी केन्द्रीय सदस्य छन् । रेणु दोस्रो कार्यकाल भरतपुर महानगरका मेयर छिन् । कान्छी छोरी गंगा उनका स्वकीय सचिव हुन् । उनले छोरा प्रकाशलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाएका थिए ।
राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईंका अनुसार हरेक नेताले कार्यकारी भूमिकामा रहँदा अवसरको दुरुपयोग गर्छन् । जुन प्रधानमन्त्री दाहालमा पनि देखिएको उनको भनाइ छ । ‘बुबा, आमा, दाजुभाइ वा दिदीबहिनीमध्ये कोही कार्यकारी भूमिकामा भए आफन्तलाई खोजीखोजी अवसर दिने गरिन्छ । जहाँ पार्टीमा त्याग र संघर्ष गरेकाले भन्दा आफन्तले अवसर पाउँछन्,’ उनले भने, ‘ठ्याक्कै अहिले पुष्पकमल दाहाल त्यस्तै देखिए ।’
प्रधानमन्त्री दाहाल नातावादमा रमाएको भन्दै हालै सम्पन्न केन्द्रीय परिषद् बैठकमा आलोचना भएको थियो । त्यसअघि पनि पार्टीका आन्तरिक बैठकहरूमा दाहालको विरोध हुने गर्दथ्यो । तर, उनी भने एकपछि अर्को नातेदारलाई अवसर दिइरहेका छन् ।