काठमाडौं – राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।
राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरेकाउपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन् ।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी थिए । एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम छन् ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।