काठमाडौं - उपनिर्वाचनको चहलपहल बढ्दै गइरहेको बेलामा रवि लामिछाने ईलाम जाने भएका छन् । आउँदो वैशाख १५ गते हुने ईलाम २ को राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस धमाधम गरिरहेका छन् । यसै सिलसिलामा चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम ईलाम जाने भएका हुन् ।
‘सभापतिज्यू ईलाम आएर उम्मेदवारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘सभापतिज्यूले पार्टीका शुभचिन्तक, कार्यकर्ता, व्यवसायी र पत्रकारहरूसँग भेटघाट गर्नुहुन्छ, सभा गर्ने भन्ने तयारी हालसम्म चाहिँ छैन ।’
निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्दै चैत १४ देखि चैत २४ गतेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म ईलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।