काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको र झण्डै ८६ हजार मानिस सङ्क्रमित भइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएको छ । त्यस विषयलाई मध्यनजर गर्दै आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, कृष्णभक्त पोखरेल, अतहरकमाल मुसलमान, तुलसा थापा, एकवल मियाँ, कलिला खातुन, खगराज अधिकारी, जीवनराम श्रेष्ठ, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा र जुलीकुमारी महतोले कोरोना भाइरसबाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।