काठमाडौं– कोरोनाको संक्रमण रोक्ने कदम चाल्न सरकारका नाममा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको संक्रमण रोक्ने आवश्यक कदम चाल्न सरकारलाई अन्तरिम आदेश दिएको हो ।
हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयलाई आवश्यक कदम चाल्न अन्तरिम आदेश दिएको हो । नेपालमा अहिलेसम्म कोभिड–१९ को धेरै संक्रमित फेला परेका छैनन् । केही समयअघि एक जनामा उक्त भाइरस देखिए पनि उनी उपचार गरेर घर फर्किसकेका छन् ।
आइतबार मात्र एक जना चिनियाँसहित चार जनालाई कोभिड–१९ को आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
यसैबीच, आफन्तको स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलले अपिल गरेको छ । नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यकबाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गरी आफन्तको स्वागत र बिदाइमा नआउन अपिल गरेको हो ।
प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ । सरकारले आइतबार संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो । प्राधिकरणले आफन्तजनको स्वागत तथा बिदाइमा आउनेहरूलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाइ गरिएको हो ।