काठमाडौं - टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।
आज विनायक र संकटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रममाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताए । भोलि घोडेजात्राका दिन साँझ ६.३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, संकटाको रथलाई तरख्यःमा ल्याएर छजना कुमार र चारजना कुमारीलाई भात खुवाइने उनले बताए ।
सपनतीर्थको रथलाई नात्येश्वर र संकटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ । जात्राको अन्तिम दिन बिहान ६.३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र संकटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले संकटालाई तीनपटक ढोगाउने चलन छ । त्यसपछि संकटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।