काठमाडौं– राजनीतिक दाउपेचका कारण संघीयता मुख्यमन्त्री उत्पादन गर्ने कारखाना बनेको छ । पछिल्लो निर्वाचन सम्पन्न भएको १६ महिना नपुग्दै प्रदेश सरकार परिवर्तनमा ‘रेकर्ड’ नै कायम भएपछि संघीयता मुख्यमन्त्रीको कारखाना बनेको हो । अघिल्लो निर्वाचनमा पाँच वर्षमा १४ मुख्यमन्त्री बन्दा यसपटक १६ महिनामै १५ जना मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
अझ सरकारको नेतृत्व त १७ पटक नै परिवर्तन भइसकेको छ । कर्णाली र सुदूरपश्चिमको प्रदेशको नेतृत्व कसले लिने भन्ने विषय अझै निश्चित भइसकेको छैन । अझ कोशीमा के हुने हो अझै अन्योल छ ।
कोशी प्रदेशसभाले यो अवधिमा पाँचवटा सरकार बनाइसकेको छ । सुरुमा पुस २४ गते हिक्मत कार्कीको नेतृत्वमा कोशी सरकार गठन भएको थियो । असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री त बने तर ९३ सदस्यीय प्रदेशसभा सदस्यमध्ये आवश्यक ४७ सांसद नभएपछि सभामुख बाबुराम गौतमकोसमेत समर्थन लिए ।
सर्वोच्च अदालते सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक ठहर गरेपछि थापा ११ साउनमा पदमुक्त भए । त्यसपछि सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गरायो र माओवादी सांसदको हैसियतमा समर्थन गरेपछि १६ साउनमा फेरि थापा नै दोस्रोपटक मुख्यमन्त्री बने ।
प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गरे पनि थापाले प्रदेशसभामा विश्वासको मत लिने बेलामा पुनः सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरे । त्यसलाई पनि सर्वोच्चले असंवैधानिक भनेपछि २१ भदौमा थापा पुनः दोस्रोपटक पनि पदमुक्त भए ।
त्यसपछि सर्वोच्चको आदेशअनुसार नै प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा एमालेका हिक्मत कार्की २२ भदौमा मुख्यमन्त्री नियुक्त भए । विश्वासको मत पाउने सम्भावना नदेखेपछि कार्कीले २० असोजमा राजीनामा दिए ।
२७ असोजमा कांग्रेस नेता डा. शेखर कोइराला पक्षका आठ जना र एमालेका सांसदहरुको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने । संविधानको धारा १६८ (५) अनुसार विश्वासको मत पाउने आधार पेस गर्ने प्रदेशसभा सदस्यको रुपमा कार्की मुख्यमन्त्री बनेका थिए, जुन प्रदेशसभामा सरकार गठनको अन्तिम विकल्प पनि हो ।
मधेस प्रदेशमा जनता समाजवादीका सरोजमोहन यादव र बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नै मुख्यमन्त्री छन् । मधेस र बागमतीमा भने यो अवधिसम्म मन्त्रीहरु मात्र फेरबदल भए । यता गण्डकीमा तीन वटा सरकार बन्दा मुख्यमन्त्री भने दुई जना बनेका छन् । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी आइतबार दोस्रोपटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । अधिकारी यसअघि २०७९ पुस २५ देखि २०८० वैशाख १४ सम्म मुख्यमन्त्री थिए । त्यतिबेला उनी एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि राजनीतिक घटनाक्रमले माओवादी कांग्रेससँग मिल्दा अधिकारीको सरकार ढलेको थियो ।
कांग्रेसले सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाएको थियो । बहुमत पु¥याउन नसकेपछि पाण्डेले केही दिनअघि राजीनामा दिएका थिए । यहाँ पनि मन्त्रीहरु थुप्रै फेरबदल भइसकेका छन् । पाण्डे अदालत गएमा यहाँ कोशी प्रकरण दोहोरिन सक्छ ।लुम्बिनीले यो अवधिमा तीन जना मुख्यमन्त्री पाएको छ । सुरुमा एमालेका लीला गिरी मुख्यमन्त्री बनेका थिए । पछि संघीय गठबन्धनमा कांग्रेसको प्रवेशपछि डिल्ली चौधरी मुख्यमन्त्री बने । अहिले चौधरीले राजीनामा दिएसँगै माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् ।
कर्णालीमा माओवादीका राजकुमार शर्माले राजीनामा दिएर एमालेका यमलाल कँडेल मुख्यमन्त्री बन्ने तयारीमा छन् । आन्तरिक सहमति जुट्दा यमलालको नियुक्ति रोकिएको छ ।सुदूरपश्चिममा पनि सरकार अन्योलको अवस्थामा छ । सुरुमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । पछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बने । नागरिक उन्मुक्तिको सहयोगमा सरकार टिकाउने प्रयास जारी राखे पनि नसकेपछि शाहले राजीनामा दिइसकेका छन् । नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख नजिर मियाँले शुक्रबार १० दिनको समय तोकेका छन् । अघिल्लो निर्वाचनमा पाँच वर्षमा २३० जना मन्त्री बनेका थिए । यसपटक मन्त्रीको रेकर्ड अघिल्लोपटक भन्दा बढ्ने देखिन्छ ।
को–को बने मुख्यमन्त्री ?