काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएकी हुन् । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे निर्वाचित भएको
घोषणा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए । एमालेका सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदले मतदान गरे । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो ।
उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गरेका थिए । नवनिर्वाचित उपाध्यक्ष घिमिरेले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
नवनिर्वाचित उपाध्यक्ष घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रिय सभाको बुधबारको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिकाटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताइन् । ‘संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुने छु,’ उनले भनिन्, ‘राष्ट्रिय सभामा महिला सदस्य सशक्तीकरणका विषयमा पनि मेरो भूमिका रहने छ ।’
उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरको उपाध्यक्ष पदलाई सानो वा ठूलो भनी मूल्यांकन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गरिन् । प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गरिन् ।
वामपन्थी खेमामा रही महिला सशक्तीकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा एमालेको पोलिट ब्युरो सदस्य छिन् । उनी चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहेकी छन् ।