गोदार - तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।
आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो। यो पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाइन्छ।
यो पर्वलाई शीतलताको प्रतीक मानिन्छ।यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन्।