काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धग्रस्त मुलुक रसिया र युक्रेनमा जाने नेपालीहरुलाई सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय गरेको छ । द्वन्द्वरत ती मुलुकमा जान चाहने नेपाली कामदारहरुलाई श्रम स्वीकृति प्रदान गर्दा ती देशका सेनामा सहभागी हुन सक्ने सम्भावना रहेकाले मानवीय जोखिमका दृष्टिकोणले हाललाई सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मानवीय जोखिमसमेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको उल्लेख गरेको छ । द्वन्द्वरत मुलुकमा जान चाहने नेपालीलाई श्रम स्वीकृति दिइरहेको भन्दै सरकारको चौतर्फी आलोचना हुँदै आएको थियो ।
यद्यपि व्यक्तिगत श्रम स्वीकृतिमा रसिया जान यसअघि नै बन्देज थियो भने युक्रेनका लागि कुनै पनि किसिमका श्रम स्वीकृति नदिइएको वैदेशिक रोजगार विभागले प्रस्ट पारेको छ ।सरकारले रुसमा पुगेर नेपालीहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै गत पुस १९ गते रुस र युक्रेन लागि दिइने सबैखाले श्रम स्वीकृतिमा अनिश्चितकालीन बन्देज लगाएको थियो । तर त्यसको झण्डै दुई महिनापछि अर्थात् फागुन दोस्रो हप्ताबाट तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीको निर्देशनमा सचिवस्तरीय निर्णयबाट पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति दिन थालिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
‘विभागले रुस वा युक्रेन जान चाहने नेपालीलाई व्यक्तिगत श्रम स्वीकृति दिएकै छैन,’ उनले भने, ‘रुसमा संस्थागत (म्यानपावर) मार्फत जाने र पुनः श्रम स्वीकृति लिनेलाई सहजीकरण गरिए पनि मन्त्रालयको निर्णयअनुसार अब सबै प्रकारण श्रम स्वीकृतिमा बन्देज लगाइएको छ ।’श्रममन्त्री डोलप्रसाद अर्यालले केही समयअघि रोजगारीको प्रलोभनमामा परी जोखिमयुक्त मुलुकमा नजान नेपाली युवालाई आग्रह गरेका थिए । यसका अलावा पहिले नै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारमा आनो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने बताएका थिए ।
यसअघि रोजगारी तथा पेसा व्यवसायका लागि भन्दै रसिया जान नेपाली नागरिकलाई दिइएको संस्थागत तथा पुनः श्रम स्वीकृति रोक्नुपर्ने माग गर्दै प्रतिनिधिसभामासमेत सांसदहरुले आवाज उठाएका थिए ।